जनकपुर पुगेर बालेनले भनेः अधिकार प्रदेशमै उपलब्ध हुनेछ, काठमाडौं त घुम्न जाने हो

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते १७:२९
Image of https://mayorsap.com/storage/photos/shares/balen-77.png

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन)ले अब मधेसका जनता अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए ।

उनले भने, ‘काठमाडौं घुम्न जानुहोस्। पशुपति स्वयम्भूको दर्शन गर्न जानुहोस् । अब अधिकार माग्न जाने होइन् । त्यो अधिकार अब यही प्रदेशमा नै उपलब्ध हुनेछ ।’

यस्तै उनले मधेसको छोरो अब प्रधानमन्त्री बन्ने भन्दै सबैले घण्टीमा भोट हाले सही समय र सही सरकार आउने दाबी गरे । ‘मधेसको छोरो अब प्रधानमन्त्री बन्छ । सबैले घण्टीमा भोट हाल्नुपर्छ । सही समय र सही सरकार आउँछ,’ उनले भने ।

त्यस्तै उनले मधेसका उखु किसान माइतीघरमा जाँदा आफू मेयर मात्र भएको कारण केही गर्न नसकेको बताउँदै अब केन्द्रीय राजनीतिमार्फत किसानहरुकाे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘मधेसका उखु किसान माइतीघरमा आउँदा मैले केही गर्न सकिन किनकी म मेयर मात्र थिए । तर अब म तपाईँहरुको साथमा छु, किनकी म अब केन्द्रीय राजनीतिमा आएको छु।’


Facebook Comments