काठमाडौं महानगर : सामाजिक सञ्जालमा चर्चा, विकासमा टिठलाग्दो अवस्था

बालेनका बाचा अलपत्र, दाउ प्रधानमन्त्रीतिर

User Image जनेश ठकुल्ला | २०८२ माघ ५ गते १८:०५
Image of https://mayorsap.com/storage/photos/shares/bbbbbbbbbbbbbbbbbbbbbb.png
तस्बिर : राहुलकुमार ढकाल/मेयरसाप

काठमाडौं । देशकै ठूलो स्थानीय तह हो, काठमाडौं महानगरपालिका । पछिल्लो समय काठमाडौं महानगर स्थानीय सरकारभन्दा पनि मेयर बालेन्द्र शाह अर्थात् बालेनको चर्चाका कारण बढी परिचित छ । २०७९ सालको स्थानीय निर्वाचन अघिसम्म काठमाडौं महानगर संघीय राजधानीमा रहेको देशकै ठूलो स्थानीय सरकारका रूपमा मात्र चिनिन्थ्यो । तर, त्यस निर्वाचनपछि यो महानगर मेयर बालेनको चर्चाले गर्दा थप चर्चित र परिचित बन्यो ।

बालेन स्वतन्त्र उम्मेदवारी दिएर देशकै ठूलो महानगरको मेयरमा निर्वाचित भएका हुन् । निर्वाचनताका उनले काठमाडौंको मेयरमा जित्छन्, भन्ने कुरा कल्पनाभन्दा बाहिर थियो । तर, राजनीतक दलभन्दा स्वतन्त्र र स्वच्छ छवि देखाएर उनले काठमाडौंका मतदातालाई आफ्नो पक्षमा ताने । आफ्नो स्वतन्त्र छवि र फरक योजना तथा एजेन्डाकै कारण उनी पुराना राजनीतिक दलप्रति असन्तुष्ट भएका नागरिकको नजरमा परे, अनि मेयरमा सहजै जित हासिल गरे ।

‘चुनावताका नागरिकलाई ५ वर्ष महानगर चलाउँछु’ भनेर बाचा दिएर मेयरमा निर्वाचित भएका बालेन अहिले तीनै मतदातासँग खाएको कसम बीचमै छाडेर संघीय राजनीतिमा प्रवेश गरिसकेका छन् । स्थानीय सरकारको कार्यकाल सकिन अझै १६ महिना बाँकी छ । पदावधि नसकिँदै बालेन प्रधानमन्त्री बन्ने लोभमा मेयर पद छाडेर आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि देश दौडाहामा निस्किसके । वर्षौंदेखि राजनीतिक दलबाट आजित भएका नागरिकले स्वतन्त्र छवि देखेर बालेनलाई मेयरमा जिताएका थिए । तर, अहिले आएर बालेनले प्रधानमन्त्री बन्ने दाउ र स्वार्थमा मतदातालाई बीचमै अलपत्र पारिदिए ।

चर्चा र वास्तविकता !
उसो त, काठमाडौं महानगरमा बालेनले धेरै काम गरेको भनेर सबैतिर चर्चा पनि हुने गरेको छ । काठमाडौंको फोहोर व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, फुटपाथ व्यवस्थापन र सुशासन प्रवद्र्धनलगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै सामाजिक सञ्जालमा खुबै प्रशंसा पनि हुने गर्छ । सामाजिक सञ्जालमा बालेनको व्यापक चर्चा भए पनि कार्यसम्पादन प्रतिवेदनले भने ठिक विपरीत नतिजा देखाएको छ ।

तथ्यांक हेर्ने हो, भने बालेन नेतृत्वको महानगरमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा विकास खर्च १० प्रतिशत पनि पुग्न सकेको छैन । काठमाडौं महानगरले यो वर्ष विकास निर्माणका लागि पुँजीगत बजेटतर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ विनियोजन गरेको थियो । तर, पहिलो चौमासिक अवधिमा जम्मा १ अर्ब ११ करोड ८९ लाख ८३ हजार रुपैयाँ मात्र खर्च गरेको छ । जुन कुल वार्षिक विकास बजेटको जम्मा ७.२० प्रतिशत हुन आउँछ ।

यस्तै, चालू आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । महानगरले सार्वजनिक गरेको विवरण अनुसार, चालू आर्थिक वर्षको पहिलो चौमासिकमा महानगरले ३ अर्ब २४ करोड ७६ लाख १५ हजार रुपैयाँ मात्र बजेट खर्च गर्न सकेको छ । जुन कुल वार्षिक बजेटको १२.९३ प्रतिशत मात्र हो ।

महानगरले वार्षिक लक्ष्य राखेको भन्दा कम बजेट खर्च गरेको तथ्यांकले देखाउँछ । सामान्यतया, समग्र बजेटमा पहिलो चौमासिकमा २५ प्रतिशतभन्दा बढी बजेट खर्च गर्नुपर्ने हुन्छ । तर, काठमाडौं महानगरले लक्ष्यभन्दा न्यून बजेट खर्च गरेको देखिएको छ । गत वर्षभन्दा यसपालि महानगरले बजेटको आकार पनि बढाएको थियो । बजेटको आकार बढाए पनि महानगरले लक्ष्य अनुसार काम र खर्च गर्न सकेको भने देखिँदैन । एकातिर, उल्लेखनीय काम गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा हुने र अर्कोतिर तथ्यांकले कमजोर कार्यसम्पादन गरेको देखाउँदा बालेनको वास्तविक चरित्र उदाङ्गिएको छ ।

काठमाडौं महानगरमा पछिल्लो ३ वर्षदेखि पहिलो चौमासिक अवधिमा लक्ष्यअनुसार बजेट खर्च भएको देखिँदैन । आर्थिक वर्ष २०८०–८१ को पहिलो चौमासिकमा १२.९ प्रतिशत मात्र खर्च भएको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०८१–०८२ को पहिलो चौमासिकमा १२.३४ प्रतिशत खर्च भएको थियो । यो वर्ष १२.९३ प्रतिशत खर्च भएको छ । जुन लक्ष्यभन्दा धेरै कम खर्च हो ।

कुन क्षेत्रमा कस्तो छ, अवस्था? 
काठमाडौं महानगरले चालू आर्थिक वर्षमा आर्थिक विकासको क्षेत्रमा ७० करोड ३९ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पहिलो चौमासिकमा महानगरले १० करोड ४२ लाख ३२ हजार रुपैयाँ बजेट खर्च गरेको छ । जुन कुल आर्थिक विकास बजेटको १४.८१ प्रतिशत हुन आउँछ ।

सामाजिक विकासको क्षेत्रमा यस वर्ष महानगरले ६ अर्ब ३५ करोड ८१ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पहिलो चौमासिक अवधिमा महानगरले ६६ करोड ९ लाख ११ हजार रुपैयाँ मात्र खर्च गरेको देखिन्छ । जुन कुल सामाजिक विकास बजेटको १०.३९ प्रतिशत हो ।

यस्तै, पूर्वाधार विकासको क्षेत्रमा यो वर्ष महानगरले ११ अर्ब ३८ करोड ७९ लाख ४७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पहिलो चौमासिक अवधिमा महानगरले ८५ करोड ९९ लाख ३७ हजार रुपैयाँ मात्र खर्च गरेको छ । जुन कुल पूर्वाधार विकास बजेटको ७.५५ प्रतिशत हुन आउँछ ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा यस वर्ष महानगरले ३ अर्ब ४० करोड ४४ लाख २१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पहिलो चौमासिक अवधिमा महानगरले २९ करोड २२ लाख ७१ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको देखिन्छ । जुन कुल सुशासन तथा अन्तरसम्बन्धित बजेटको ८.५९ प्रतिशत हो ।

कार्यालय सञ्चालन तथा प्रशासनिक कामकाजको लागि विनियोजन गरेको बजेटमा महानगरले लक्ष्यभन्दा बढी खर्च गरेको देखिन्छ । चालू आर्थिक वर्षमा ३ अर्ब २५ करोड ९८ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । महानगरले पहिलो चौमासिकमा १ अर्ब ३३ करोड १ लाख ६२ हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल वार्षिक कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फको बजेटको ४०.७९ प्रतिशत हो ।

आन्तरिक आम्दानीमा निराशा
महानगरले संघीय सरकार र प्रदेश सरकारबाट पहिलो चौमासिकमा लक्ष्य अनुसार अनुदान पाएको देखिएको छ । चालू आर्थिक वर्ष संघीय सरकार र प्रदेश सरकारबाट महानगरले वार्षिक २ अर्ब ४७ करोड ८९ लाख १६ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएकोमा पहिलो चौमासिकमा ७५ करोड १२ लाख ६९ हजार रुपैयाँ अनुदान प्राप्त गरेको छ, जुन लक्ष्यको ३०.३३ प्रतिशत हो ।

यस्तै, राजस्व बाँडफाँडको अवस्था भने सन्तोषजनक नै देखिएको छ । यस वर्ष वार्षिक २ अर्ब ५१ करोड १० लाख २५ हजार रुपैयाँ राजस्व बाँडफाँडबाट आय हुने प्रक्षेपण गरिएकोमा पहिलो चौमासिकमा महानगरले ५० करोड ४६ लाख ८० हजार रुपैयाँ प्राप्त भएको छ । जुक कुल लक्ष्यको २०.१० प्रतिशत हुन आउँछ ।

महानगरले संघीय र प्रदेशको सरकारको तर्फबाट पाउने अनुदान लक्ष्यअनुसार प्राप्त गरे पनि आन्तरिक आम्दानी भने निराशाजनक छ । तथ्यांक हेर्दा, यस वर्ष वार्षिक १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्वमार्फत आन्तरिक आम्दानी हुने प्रक्षेपण गरिएको थियो । तर, पहिलो चौमासिकमा १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको छ । जुन लक्ष्यको १९.४४ प्रतिशत हो ।

बालेनको बहिर्गमनले थपिने चुनौती
काठमाडौं महानगरभित्र शिक्षा, स्वास्थ्य र फोहोर व्यवस्थापनका क्षेत्रमा केही सकारात्मक सुधारका प्रयासहरू नभएका होइनन् । तर, ५ वर्षका लागि मेयरमा चुनिएका बालेन कार्यकाल नै पूरा नगरी प्रधानमन्त्री बन्ने लक्ष्यसहित संघीय राजनीतिमा होमिँदा उनले नागरिकसामु गरेका बाचाहरू अलपत्र पर्ने निश्चित देखिन्छ । सामाजिक सञ्जालमा बालेनले काठमाडौं महानगरको मुहार नै फेरेको भन्दै जति चर्चा र समाचार बन्छन्, वास्तविक तथ्यांकले भने निराशाजनक चित्र देखाएको छ । 

विशेषगरी विकास निर्माणको पाटोमा बालेन नेतृत्वको काठमाडौं महानगर पछिल्लो तीन वर्षदेखि निकै कमजोर देखिएको छ । आर्थिक वर्षको पहिलो चौमासिकमा विकास खर्च १० प्रतिशत पनि कटाउन नसक्नु र समग्र बजेट खर्च १२ प्रतिशतमा खुम्चिनुले बालेनको कार्यशैली चर्चामा मात्रै सीमित भएको हो,कि भन्ने प्रश्न उब्जाएको छ । विकासको क्षेत्रमा गति लिन धौ–धौ भइराखेको अवस्थामा मुख्य नेतृत्वले पद छाड्दा नीतिगत अन्यौलता सिर्जना त हुन्छ नै, साथै कार्यवाहकको भरमा महानगर चल्दा नागरिकका अपेक्षाहरू पूरा नहुने सम्भावना पनि उस्तै छ ।

अर्कोतर्फ, स्थानीय तह निर्वाचन ऐन–२०७३ अनुसार कार्यकाल एक वर्षभन्दा बढी बाँकी छँदै पद रिक्त भएमा अनिवार्य उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ । बालेनको पदावधि अझै १६ महिना बाँकी रहेकाले उनको राजीनामासँगै काठमाडौंमा पुनः मेयरको निर्वाचन गर्नुपर्ने अवस्था आउनेछ । बालेनले व्यक्तिगत महत्त्वकांक्षा र प्रधानमन्त्री बन्ने लोभमा बीचमै पद त्याग्दा राज्यलाई अनावश्यक आर्थिक भार थपिने मात्र होइन, मतदातको विश्वासमाथि कुठाराघात हुने र उनकै राजनीतिक भविष्य समेत चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ । 


Facebook Comments