निर्वाचनको बहानामा विकास नरोक्न मुख्यमन्त्री कँडेलको निर्देशन
मेयरसाप डेस्क
|
२०८२ माघ ७ गते १७:२५
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिलासुस्ती नगर्न कडा निर्देशन दिएका छन् ।
बुधबार गृह मन्त्रालयको हलमा आयोजित मन्त्रालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित सेवा प्रवाह र स्वीकृत योजनाहरू कार्यान्वयन गर्न नरोक्ने स्पष्ट पारे ।
समीक्षाका क्रममा मन्त्रालयहरूको प्रगति सुस्त देखिएपछि मुख्यमन्त्रीले असन्तुष्टि व्यक्त गर्दै भने, “निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन, चुनावको बहानामा विकासमा अवरोध हुनु स्वीकार्य छैन।”
उनले मन्त्रालयहरूले बनाएको कार्यतालिका कार्यान्वयन नभएकोमा प्रश्न उठाउँदै कार्यालय प्रमुखहरूलाई आफ्नो योग्यता र क्षमता परिणाम देखिने गरी प्रदर्शन गर्न निर्देशन दिए ।
वार्षिक नीति तथा कार्यक्रममा समावेश भइसकेका योजनाहरूको कार्यान्वयनमा कुनै अवरोध नहुने भन्दै उनले समयमै काम नसकिँदा सरकारप्रति जनविश्वास कमजोर बन्ने बताए ।
कार्यक्रममा १० वटै जिल्लाका कार्यालय प्रमुख, सचिवहरू र प्रमुख सचिवको उपस्थिति रहेको थियो, जहाँ चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो ।
Facebook Comments