छठघाटबाटै लखेटिए मेयर, उधाराे आश्वासनमा जनता आक्रोशित!
मेयरसाप डेस्क
|
२०८३ कात्तिक ३० गते १०:०६
सर्लाही । जनताको समस्या सुनेर समाधान गर्नुपर्ने जनप्रतिनिधि उल्टै जनताकै आक्रोशको निशानामा परेका छन्। सर्लाहीको मलंगवामा छठ पूजाका लागि पोखरी पुगेका नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवलाई स्थानीय युवाहरूले नाराबाजी गर्दै घाटबाटै लखेटेका छन्।
घटना मलंगवा नगरपालिका वडा नम्बर ७ स्थित मुसैली पोखरीको हो। छठ पर्वका अवसरमा सपरिवार पूजाआजा गर्न मेयर यादव साँझ करिब पौने ६ बजे त्यहाँ पुगेका थिए। तर, उनले स्वागत होइन, स्थानीयको चर्को विरोधको सामना गर्नुपर्यो। विरोधपछि पूजाआजा नै नगरी उनी त्यहाँबाट बाहिरिन बाध्य भए।
स्थानीयको आक्रोशको कारण भने छठघाटको तयारीसँग जोडिएको छ। दसैँलगत्तै पोखरी सफा गराउने, छठका बेला बत्ती जडान गर्ने र आवश्यक पूर्वाधार निर्माण गर्ने आश्वासन मेयरले दिएका थिए। तर, ती काम पूरा नभएको भन्दै स्थानीय असन्तुष्ट भए।
सर्लाही क्याम्पसका स्ववियु सभापति सुजित यादवसहित दर्जनौँ युवाले मेयरविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूका अनुसार छठका लागि पोखरीको सरसफाइसमेत स्थानीय आफैँले गर्नुपरेको थियो। प्रहरीको गस्ती भइरहेकै बेला भएको विरोधमा वडा नम्बर ७ का अध्यक्षका छोराहरूसमेत मेयरसँगै लखेटिएका थिए ।
स्थानीयले जनप्रतिनिधिले प्रतिबद्धता पूरा नगरे जोसुकै भए पनि पोखरी क्षेत्रमा प्रवेश गर्न नदिने चेतावनीसमेत दिएका छन्। यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने घटनाबारे आफूहरूलाई औपचारिक जानकारी नआएको जनाएको छ।
Facebook Comments