कञ्चनपुरको मतदानस्थलको स्थलगत निरीक्षण, भारतसँगको सिमानाका कारण चुनाैति ठहर
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १९:४०
कञ्चनपुर । जिल्ला सुरक्षा समिति कञ्चनपुरको टोलीले मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित मतदानस्थलको स्थलगत निरीक्षण गरेका हुन् । छिमेकी मुलुक भारतसँगको सिमाना जोडिएका स्थलमा सुरक्षा चुनौती देखिएकाले दोधारा चाँदनीबाट मतदानस्थलको स्थलगत निरीक्षण थालेको प्रजिअ कोइरालाले जानकारी दिए ।
“सुरक्षा निकायका प्रमुखसहित दोधारा चाँदनीमा रहेका मतदानस्थलको स्थलगत निरिक्षण गरेका छौँ”, उनले भने, “अनुगमनका क्रममा अवस्था सामान्य देखिएको छ, विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेका छौँ ।”
जिल्ला सुरक्षा समितिको टोलीले तीनवटै निर्वाचन क्षेत्रका मतदानस्थलको निरीक्षण गर्ने प्रजिअ कोइरालाले बताए । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसै अनुरुप सुरक्षाको व्यवस्था मिलाइएको छ । प्रहरीका अनुसार १३२ मतदानस्थल मध्ये ६६ मतदानस्थललाई अतिसंवेदनशील, ४० मतदानस्थल संवेदनशील र २६ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले एकीकृत सुरक्षा योजना बनाएर निर्वाचन सुरक्षाको तयारी गरेको जानकारी दिए । “सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रुपमा रहेका छन्”, उनले भने, “यसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिने छन् ।”
कञ्चनपुर जिल्ला भारतसँग सीमा जोडिएका कारण अतिसंवेदनशील मतदनास्थलको सङ्ख्या बढी छ । मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नं–१ मा ३४ अतिसंवेदनशील, १४ संवेदनशील र चार मतदान केन्द्र सामान्य छन् । त्यसैगरी क्षेत्र नं–२ मा १७ अतिसंवेदनशील, १३ संवेदनशील र १३ सामान्य मतदानस्थल छन् । निर्वाचन क्षेत्र नं–३ मा १५ अतिसंवेदनशील, १३ संवेदनशील र नौ सामान्य मतदानस्थल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ मतदाता छन् ।
Facebook Comments