५६ करोड भ्रष्टाचार प्रकरण : निलम्बित मेयर थापाविरुद्ध सुनुवाइ
वन क्षेत्र अतिक्रमण गरी करोडौँको दोहन
मेयरसाप डेस्क
|
२०८२ फागुन ४ गते १३:०१
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा यस मुद्दाको पेसी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन विकास परियोजनाको जग्गा अतिक्रमण गरी माछापोखरी निर्माणका नाममा ५६ करोड ७१ लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको अभियोगमा थापाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अख्तियारको दाबीअनुसार मेयर थापाले बागमती नगरपालिकाको वडा नम्बर ४ र १२ मा पर्ने वन क्षेत्रमा गैरकानुनी रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गराई परेको खाल्डोमा माछापोखरी बनाउने बहानामा सङ्घ र प्रदेश सरकारबाट प्राप्त करोडौँ अनुदान दुरुपयोग गरेका छन् ।
यस प्रकरणमा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमारले निर्माण नै सम्पन्न नभएको आयोजनाका लागि ३० करोड रुपैयाँ अनुदान दिने सम्झौतामा आफैँले हस्ताक्षर गरी भ्रष्टाचारमा सघाएको अभियोग छ ।
आयोगले मेयर थापा, उपमेयर लीलाकुमारी मोक्तान र पूर्वमन्त्री विजय कुमारसहित ८ जनालाई विपक्षी बनाई जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।
प्रचलित वन ऐन र भ्रष्टाचार निवारण ऐनविपरीत प्राकृतिक स्रोतको दोहन गरी सरकारी ढुकुटी सिध्याएको भन्दै उनीहरूविरुद्ध कडा सजायको माग गरिएको छ ।
Facebook Comments