एनपीएल– कसले उचाल्ला ट्रफी ? डेढ करोडको भिडन्तकाे फाइल आज
मेयरसाप डेस्क
|
२०८३ मंसिर ०५ गते ०८:४५
काठमाडौं । एनपीएलको उपाधि कसले उचाल्ला ? साविक विजेता लुम्बिनी लायन्सले लगातार दोस्रोपटक ट्रफी जितेर इतिहास दोहोर्याउला कि लगातार तीनपटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्सले पहिलोपटक च्याम्पियन बनेर नयाँ इतिहास रच्ला ? यसको फैसला आज हुँदैछ ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ पनि हो ।
लुम्बिनी यसअघि नै सुदूरपश्चिमलाई पहिलो क्वालिफायरमा ६ विकेटले हराउँदै फाइनल पुगेको हो । सुदूरपश्चिमले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
यी दुई टोलीबीच लगातार दोस्रो संस्करणको फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । अघिल्लो संस्करणमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो । त्यसैले लुम्बिनी यसपटक पनि सुदूरपश्चिमलाई रोक्दै उपाधि रक्षा गर्ने योजनामा छ ।
तर सुदूरपश्चिमका लागि यो फाइनल अझ विशेष छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग हार्यो । अब लगातार तेस्रोपटक फाइनल पुगेको टोली यसपटक भने उपविजेतामै सीमित हुन चाहँदैन । अघिल्ला दुई हारको बदला लिँदै पहिलोपटक ट्रफी उचाल्ने उसको लक्ष्य छ ।
हेड टु हेडमा भने लुम्बिनी केही अगाडि देखिन्छ । यी दुई टोलीबीच भएका पाँच खेलमध्ये लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेल जितेका छन् । तर फाइनलमा पुराना नतिजाभन्दा आजको प्रदर्शन निर्णायक हुनेछ ।
दुवै कप्तानले पनि फाइनललाई महत्त्वपूर्ण मानेका छन् । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले अघिल्ला खेलको नतिजा बिर्सेर फाइनलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका छन् । उनका अनुसार लगातार दोस्रो उपाधि लुम्बिनीका लागि मात्रै होइन, व्यक्तिगत रूपमा पनि महत्त्वपूर्ण छ ।
यता, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले लुम्बिनीको बलिङ बलियो रहेको उल्लेख गर्दै त्यसलाई सामना गर्ने योजना बनाएको बताएका छन् ।
अब कुरा पुरस्कार राशीको । एनपीएलको उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । आजको खेलले केवल च्याम्पियनको टुंगो लगाउने छैन, डेढ करोड रुपैयाँको मालिक पनि तय गर्नेछ ।
Facebook Comments