मधेसमा कांग्रेसको विशाल जनसभा, प्रतिज्ञा पत्र सार्वजनिक गरिने

कांग्रेसको नजर जेन–जी युवामा

No Author Assigned | २०८२ फागुन ०४ गते १८:०६
Image of https://mayorsap.com/storage/photos/shares/congress-madhesh.jpg

जनकपुरधाम । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी आगामी बुधबार जनकपुरधाममा वृहत् ‘मधेस जनसभा’ आयोजना गर्ने भएको छ । जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाँछीमा हुने उक्त सभाको तयारीलाई पार्टीले अन्तिम रूप दिइरहेको छ ।

नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समितिका संयोजक नितेश कुमार गुप्ताका अनुसार सभाको प्रमुख अतिथिका रूपमा महामन्त्री गगन कुमार थापा रहनेछन् भने अध्यक्षता मधेस प्रदेशका सभापति एवं मुख्यमन्त्री कृष्णा प्रसाद यादवले गर्नेछन् । कार्यक्रममा मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरू र केन्द्रीय तहका शीर्ष नेताहरूको उपस्थिति रहनेछ ।

यस जनसभाको मुख्य आकर्षण जेनजी युवाहरूका माग र आवश्यकतालाई सम्बोधन गरी तयार पारिएको ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरिने कार्यक्रम रहेको छ । कांग्रेसले नयाँ पुस्तालाई राजनीति र विकाससँग जोड्न यो विशेष अभियान थालेको हो ।

संयोजक गुप्ताले जनसभामा मधेस प्रदेशभरबाट लाखौँ कार्यकर्ता र समर्थकहरूको सहभागिता रहने दाबी गरेका छन्। कार्यक्रमलाई व्यवस्थित बनाउन जिल्ला तथा वडा सभापतिहरूको बैठक बसिसकेको र कार्यविभाजन समेत भइसकेको छ ।


Facebook Comments