संखुवासभामा ट्रकसहित बेलिब्रिज भाँचियो, आवतजावत ठप्प
चालक गम्भीर घाइते, ढुवानीमा प्रत्यक्ष असर
मेयरसाप डेस्क
|
२०८२ फागुन १६ गते १५:१०
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने अरुण नदीमाथिको बेलिब्रिज शनिबार बिहान भाँचिएको छ । सिमेन्ट बोकेको गह्रौँ लोवेट ट्रक तार्ने क्रममा भार थाम्न नसकी पुल बीचबाटै भाँच्चिएर नदीमा खसेको हो ।
दुर्घटनामा प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रकका चालक, सिन्धुपाल्चोक बाह्रबिसेका ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ ।
पुल भाँचिएपछि नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट स्थानीय बासिन्दा, पर्यटक र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा प्रत्यक्ष असर परेको छ ।
कासुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गइरहेको ट्रक पुलसँगै नदीमा खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए ।
प्रहरीका अनुसार, अहिले सो क्षेत्रमा आवतजावत ठप्प छ । भत्किएको पुलको मर्मत वा वैकल्पिक मार्ग निर्माणका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments