रुपन्देही–२ : घण्टी हाबी, सूर्य डिलमा, रूखको बाटो बन्द, टिठलाग्दो तारा !
विष्णुलाई सुलभ बाछिटा, को ‘सेभ’ ?
जनेश ठकुल्ला
|
२०८२ फागुन १६ गते १६:१८
रुपन्देही–२ मा यसपटक निकै रोचक चुनावी भिडन्त हुँदैछ । आगामी २१ गते हुने निर्वाचनका लागि यो क्षेत्रमा यसपटक ४० जना उम्मेदवार चुनावी मैदानमा छन् । भनिन्छ– एउटा ‘दाप’मा दुईवटा तरबार त अटाउँदैनन्, तर, यहाँ त एउटै सिटका लागि ४० जनाको लर्को लागेको छ । मैदानमा जति नै उम्मेदवार उत्रिए पनि मुख्य प्रतिस्पर्धा भने नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच हुने देखिएको छ ।
विष्णुप्रसाद पौडेल
नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका विष्णुप्रसाद पौडेल यो क्षेत्रका लागि पुरानै नेता हुन् । २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा रुपन्देही–४ बाट विजयी भएका पौडेलले २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही–२ बाट निर्वाचित भएर ह्याट्रिक जित निकालिसकेका छन् ।
गत निर्वाचनमा रास्वपाका गणेश पौडेललाई पराजित गर्दै २७ हजार बढी मत ल्याएर पौडेल निर्वाचित भएका थिए । यसपटक पाल्पा–२ बाट उठ्ने चर्चा र पार्टी निर्णय भए पनि अन्तिम समयमा रुपन्देही नै फर्कनु उनको चलाखी रणनीतिक देखिन्छ । २०५१ सालदेखि संसदीय राजनीतिमा प्रवेश गरेका पौडेलले खेलकुद, ऊर्जा, रक्षा र अर्थमन्त्री भएर काम गरिसकेका छन् । अनुभवी र स्थापित नेता, बलियो संगठनको आधारले गर्दा उनले चुनाव जित्ने देखिए पनि यसपटक देशभर रास्वपाको लहर र गत निर्वाचनमा कमजोर समानुपातिक मतले उनलाई चुनाव जित्न कठिन हुने देखिन्छ ।
यद्यपि, लगातार जित्दै आएका पौडेलका लागि यो क्षेत्र प्रतिष्ठाको विषय हो । हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला भनेझैँ, ह्याट्रिक गरिसकेका पौडेल यसपटक पनि जित निकाल्ने दाउमा छन् । तर, गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको वैशाखी टेकेर जितेका पौडेल यसपटक हार निकट रहेको विश्लेषण भइरहेको छ । राप्रपाले आफ्नै उम्मेदवार उठाउनु र घण्टीको उभार आउनुले पौडेल ‘रेड जोन’मा परेको देखिन्छ । एमालेप्रति यो पटक जनताको फरक मत छ ।
चुन्नप्रसाद शर्मा पौडेल
यता नेपाली कांग्रेसबाट रुपन्देही–२ मा चुन्नप्रसाद शर्मा पौडेल चुनावी मैदानमा छन् । चाउचाउको चर्चित ब्राण्ड ‘करेन्ट’ र ‘लाली’को उत्पादन गर्ने यशोदा फुड्स उद्योगदेखि बुटवलको पहिलो पाँचतारे होटेल हायात प्यालेससम्म लगानी गरेका उनी पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन् ।
२०४२ सालदेखि नेपाली कांग्रेससँग जोडिएका चुन्नप्रसाद २०७९ सालको निर्वाचनमै रुपन्देही–२ बाट उम्मेदवार सिफारिस भएका थिए । तर पार्टीले माओवादी, एकीकृत समाजवादी र जनमोर्चासँग गठबन्धन गरेर निर्वाचनमा होमिएपछि उनी उम्मेदवार बन्नबाट रोकिएका थिए ।
अहिले कांग्रेसका मतदाता आफ्नै उम्मेदवार पाउँदा उत्साहित छन् । उनको सफल व्यावसायिक व्यक्तित्व र निष्ठावान् नेताको छविको कारण रुपन्देही–२ मा केही सहज त देखिन्छ । तर, प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार, यस क्षेत्रबाट लगातार जित्दै आएका नेता विष्णु पौडेलसँगको प्रतिस्पर्धा र रास्वपाको लहरकाबीच संसद् जाने बाटो बनाउन उनलाई पनि सकस पर्ने देखिएको छ ।
सुलभ खरेल
रुपन्देही–२ मा चुनावी चर्चाको केन्द्रमा छन् राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल । दुई वर्ष जति नेकपा एमाले निकट अनेरास्ववियूमा आबद्ध भएका खरेलले चार वर्ष वकालत गरे । पछि संवैधानिक कानुनमा अध्ययन गर्न अमेरिका पुगेका खरेल नेपाल फर्किएर रास्वपामा जोडिएका हुन् ।
खरेलले रुपन्देही–२ बाट जित्दै आएका एमालेका उम्मेदवार विष्णु पौडेललगायतसँग प्रतिस्पर्धा गर्दै छन् । पार्टीका लागि आफ्नो क्षेत्रमा पार्टी संगठन बनाउन योगदान नगरेको तर सभापति रवि लामिछोसँग निकट भएकै आधारमा खरेलले टिकट पाएको भन्दै पार्टीभित्र असन्तुष्टि छ । गत भदौको जेन–जी आन्दोलनका बेला खरेल विवादमा पनि तानिए । न्यायाधीशमाथि आक्रमण गर्नुपर्ने र सर्वोच्च अदालत जलाउनुपर्ने भनेर ह्वाट्सएपमार्फत एसएमएस आदानप्रदान गरेको उनीमाथि आरोप छ ।
विवादित अभिव्यक्ति, पार्टीभित्रको किचलो र यो क्षेत्रबाट लगातार जितिसकेका हेभिवेट नेतासँगको प्रतिस्पर्धाले गर्दा उनलाई पनि हम्मेहम्मे हुने देखिएको छ । तर, युवा उम्मेदवारको आकर्षण, देशभर फैलिएको रास्वपाको जनलहर र गत निर्वाचनमा यो क्षेत्रमा समानुपातिकमा रास्वपा पहिलो दल बनेकाले पनि उनले लगभग चुनाव जित्ने निश्चित देखिएको विश्लेषण भइरहेको छ ।
चुनावी मैदानमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सुभाष पाण्डे पनि छन् । उनले आफ्ना बुबा भक्तिप्रसाद पाण्डेलाई २०६४ मा पराजित गरेका एमाले नेता विष्णु पौडेललगायतलाई प्रतिस्पर्धीको रूपमा पाएका छन् । बुवाको राजनीतिक विरासत जोगाउन खोज्दै गरेका सुभाषका लागि पनि यो क्षेत्रमा चुनाव जित्न फलामको चिउरा चपाउनु सरह देखिन्छ ।
गत निर्वाचनको नतिजा र अहिले बदलिएको अंकगणित हेर्ने हो भने, रुपन्देही–२ मा यसपटक मुख्य प्रतिस्पर्धा एमालेका विष्णु पौडेल, रास्वपाका सुलभ खरेल र कांग्रेसका चुन्नप्रसाद शर्माबीच हुने देखिएको छ । यसपटक उम्मेदवारको संख्या उल्लेख्य भएकाले स्वतन्त्र र अन्य दलका उम्मेदवारले पनि केही प्रभाव पार्ने र भोट काट्ने सम्भावना हुँदा रास्वपाका खरेल रुपन्देही–२ मा बढी हाबी देखिएका छन् ।
Facebook Comments