२०६४ को चुनावी रेकर्ड तोड्न डा. बाबुराम भट्टराईको चुनौती
मेयरसाप डेस्क
|
२०८२ फागुन २१ गते १४:१७
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि देशभर मतदान भइरहेका बेला पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले २०६४ सालको आम निर्वाचनमा आफूले बनाएको रेकर्ड सम्झिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले गोरखा–३ बाट आफूले त्यसबेला हासिल गरेको मत प्रतिशतको कीर्तिमान कसैले छिट्टै तोडिदिए खुशी हुने बताएका छन्।
भट्टराईले लेखेका छन्, “गोरखाले देखाएको अतुलनीय मायाप्रति म सधैं आभारी छु र रहिरहनेछु। मेरो नाममा गोरखा–३ ले लेखेको चुनावी रेकर्ड (खसेको मतको करिब ८३ प्रतिशत) कसैले छिट्टै तोडेमा खुशी हुनेछु।”

माओवादी शान्ति प्रक्रियामा आएपछि भएको संविधानसभाको पहिलो निर्वाचन (२०६४) मा भट्टराई अत्यधिक मतान्तरसहित विजयी भएका थिए। गोरखा–२ मा उनले ४६ हजार २७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रप्रसाद न्यौपानेले ६ हजार १७१ मत पाएका थिए। त्यसबेला उनीहरूबीच ४० हजार १०१ मतको फराकिलो अन्तर रहेको थियो। सो निर्वाचनमा भट्टराई देशभरकै सर्वाधिक मतान्तरले विजयी हुने उम्मेदवार बनेका थिए।
भट्टराईको सर्वाधिक मतान्तरको रेकर्ड भने पछि तोडिएको छ। चितवन–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५४ हजार २७६ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गरेका थिए। दुवैबीच ४२ हजार ९६२ मतको अन्तर थियो।
तर मत प्रतिशतका आधारमा भने भट्टराईको रेकर्ड अझै कायम रहेको छ। उनले खसेको मतको करिब ८३ प्रतिशत प्राप्त गरेका थिए भने लामिछानेले करिब ७५ प्रतिशत मत हासिल गरेका थिए।
भट्टराईले आफ्नो लोकप्रियता भने पछिल्ला चुनावहरूमा लामो समय कायम राख्न सकेनन्। २०७० सालमा गोरखा–१ बाट चुनाव लड्दा उनले कांग्रेस उम्मेदवारलाई १३ हजार ८५३ मतले पराजित गरे पनि अघिल्लो निर्वाचनको तुलनामा मतान्तर घटेको थियो।
२०७४ सालमा नयाँ शक्तिबाट गोरखा–२ मा उम्मेदवार बनेका भट्टराईले तत्कालीन माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ५७२ मतको झिनो अन्तरले पराजित गरेका थिए। २०७९ सालको निर्वाचनमा भने उनले उम्मेदवारी दिएका थिएनन्।
यसपटकको आमनिर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिने घोषणा गरेका भट्टराई अन्ततः पछि हटेका छन्। उनले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन्।
Facebook Comments