सिरहामा खाना पकाउने एलपी ग्यासको अभावको बहानामा कालोबजारी
सम्बन्धित निकायलाई तुरुन्त अनुगमन गर्न आग्रह
मेयरसाप डेस्क
|
२०८२ फागुन २६ गते ०७:५२
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् ।
लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उनले भने, “निर्धारित मूल्यमा दुई सिलिन्डरको तीन हजार ८२० रुपैयाँ पर्नुपर्ने हो । नौ हजार रुपैयाँ भनेपछि कसरी तिर्नु ? त्यसपछि रित्तै हात फर्किनुप¥यो ।”
सिरहा नगरपालिका–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका प्रमोद यादवले पनि निर्धारण गरिएको मूल्यमा ग्यास नपाउँदा व्यवसाय चलाउन कठिन भएको बताए । “सिलिन्डर किन्दा चार हजार ५०० रुपैयाँ तिर्नुपर्छ”, उनले भने, “त्यति महँगोमा किनेर कसरी खर्च धान्नु ? अब खाना पनि खान नसकिने अवस्था आउला कि भन्ने चिन्ता बढेको छ ।”
खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ रहेको छ । तर बजारमा भने त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।
उपभोक्ता अधिकारकर्मीले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तुरुन्त अनुगमन गर्न आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले कालोबजारी गर्नेविरुद्ध कारबाही गरिने चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
कालोबजारी कानुनविपरीत काम भएकाले कोही दोषी पाइए कारबाही हुने उनले बताए। उनले भने, “हामी वाणिज्य कार्यालय र सम्बन्धित निकायसँग समन्वय गरेर बजार अनुगमन गर्नेछौँ, कालोबजारी गरेको पाइए कानुनबमोजिम कारबाही हुन्छ ।”
नेपाल आयल निगमका स्थानीय वितरकहरूले ढुवानी र आपूर्ति व्यवस्थापनमा समस्या हुनुका साथै निर्वाचनका कारण तीन दिन सिमाना बन्द गरिनु उपभोक्ताहरूले पनि ग्यास भण्डारण गरेर राख्नुलगायत कारणले बजारमा अभाव देखिएको बताएका छन् ।
Facebook Comments