धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित

User Image मेयरसाप डेस्क | २०८२ चैत ३ गते ०८:३६
Image of https://mayorsap.com/storage/photos/shares/yadap.png

धनुषा । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको छनौट शाखाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक यादव दरबन्दी तालुक मधेस प्रदेश प्रहरी कार्यालयमा रही हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत छन् । उनले फागुन १९ गते सम्पन्न मिथिला माध्यमिक परिक्रमा मेला तथा होली पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा योजना बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गरी महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसैगरी फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उनले निर्वाचन सुरक्षा सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरेका थिए । निर्वाचन नजिकिँदै जाँदा जिल्लाको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय धनुषाको निर्वाचन सेलबाट विस्तृत सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको थियो ।

निर्वाचन लक्षित सभा, जुलुस तथा प्रचार९प्रसार कार्यक्रमलाई व्यवस्थित बनाउन सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्नुका साथै आफैँ कमान्डमा खटिई कार्यक्रमहरू शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले सक्रिय भूमिका खेलेका थिए । साथै जिल्लाका सबै मतदान स्थल तथा मतदान केन्द्रहरूको सुरक्षा अवस्थाको अध्ययन गरी आवश्यक जनशक्ति परिचालन, मोबाइल गस्ती, चेकजाँच तथा निगरानीलाई तीव्र बनाइएको थियो ।
मतदानको दिन उनी मोबाइल कमान्डरका रूपमा खटिई मतदान स्थलहरूमा चुस्त सुरक्षा व्यवस्था मिलाउनुका साथै मतपेटिका सङ्कलन, मतगणना स्थल सुरक्षा तथा मतगणना कार्यलाई विवादरहित रूपमा सम्पन्न गराउन समेत महत्त्वपूर्ण योगदान पु¥याएका थिए ।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी लगनशील, कर्तव्यनिष्ठ र उच्च व्यावसायिक दक्षताका साथ पूरा गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा उल्लेखनीय योगदान पु¥याएको मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 


Facebook Comments