निर्वाचनमा अप्रत्याशित पराजय भोगेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

User Image मेयरसाप डेस्क | २०८२ चैत ४ गते ०७:१३
Image of https://mayorsap.com/storage/photos/shares/gaganthapa-1768894524.jpg

काठमाडों । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय भोगेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पेश गरेका हुन्।

काठमाडौं–४ बाट पटक–पटक निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका थिए। तर उनी अमरेशकुमार सिंहसँग पराजित भए।

निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जित्दा कांग्रेस दोस्रो स्थानमा खुम्चिएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्रै हासिल गरेको छ।

परिणाम सार्वजनिक भएसँगै राजीनामाको तयारीमा रहेका थापालाई पार्टीभित्रका नेताहरूले पदमा रहिरहन दबाब दिए पनि उनले नैतिक जिम्मेवारी वहन गर्दै पदत्याग गरेका हुन्।

विशेष महाधिवेशनमार्फत सर्वसम्मत रूपमा सभापति चयन भएका थापाको राजीनामाबारे अन्तिम निर्णय भने अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ। उक्त बैठक शुक्रबारका लागि तय गरिएको छ।


Facebook Comments