गृहमन्त्री बन्दै सुधन गुरुङ

User Image मेयरसाप डेस्क | २०८२ चैत १२ गते ११:३४
Image of https://mayorsap.com/storage/photos/shares/photo-14-c3076971.jpg

काठमाडौं । सुधन गुरुङले गृहमन्त्रीकाे जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो।

रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहलाई रामचन्द्र पौडेल ले संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन्। बहुमत प्राप्त दलका नेताको हैसियतमा उनी प्रधानमन्त्री बनेका हुन्। सोही मन्त्रिपरिषद्मा गुरुङलाई महत्वपूर्ण मानिने गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।

को हुन् सुधन गुरुङ?

गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवास स्थायी घर भएका सुधन गुरुङको जन्म २०४४ सालमा भएको हो। उनले काठमाडौंस्थित मल्टी इन्टरनेसनल कलेजबाट ‘ए लेभल्स’ अध्ययन पूरा गरेका छन्। त्यसपछि विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएर सामाजिक कार्यमा सक्रिय बने।

२०७२ सालको भूकम्पपछि उनले ‘हामी नेपाल’ नामक संस्था स्थापना गरी राहत तथा उद्धार कार्यमा नेतृत्वदायी भूमिका खेले। शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक विकृतिविरुद्ध आवाज उठाउने उद्देश्यका साथ उनले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै काम गर्दै आएका छन्।

बाढी–पहिरो तथा कोभिड–१९ महामारीका समयमा पनि उनको संस्थाले उल्लेखनीय सहयोग पुर्‍याएको थियो। कोभिड अस्पताल निर्माणदेखि ड्रोनमार्फत राहत वितरणसम्मका गतिविधिमा उनी सक्रिय देखिएका थिए।

जेनजी आन्दोलनपछि चर्चामा

गुरुङ विशेषतः भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ पछि चर्चामा आएका हुन्। माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा उनले आफूलाई स्वयंसेवकको रूपमा चिनाएका थिए। त्यसपछि विभिन्न राजनीतिक घटनाक्रममा उनको सक्रियता बढ्दै गयो।

अन्तरिम सरकार गठनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सँग जोडिएका घटनाक्रमले पनि उनलाई थप चर्चामा ल्यायो। यद्यपि, आन्दोलन ‘हाइज्याक’ गरेको आरोपसमेत उनीमाथि लागेको थियो।

राजनीतिमा प्रवेश र निर्वाचन जित

गुरुङले सामाजिक अभियन्ताबाट राजनीतिमा प्रवेश गर्दै रास्वपा र बालेन्द्र शाहलाई एकै ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। पछि उनी औपचारिक रूपमा रास्वपामा आबद्ध भए।

आसन्न निर्वाचनमा उनले गोरखा–१ बाट उम्मेदवारी पाए र प्रेमकुमार खत्री लाई १४,४९८ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

अब उनी गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै राष्ट्रिय राजनीतिमा थप प्रभावशाली भूमिकामा देखिने अपेक्षा गरिएको छ।


Facebook Comments