बालेनको ‘मूूड’ फेरियो : किन रोकियो प्रदेशसभा खारेज ?
ज्ञानेन्द शाहीको ‘विग’ अफर
मेयरसाप डेस्क
|
२०८३ वैशाख ५ गते १३:०१
संख्यामा २१ सिट, दलमा चौथो र, पदमा सांसद मात्रै भएका बेला अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक कार्यक्रममा धेरै वटा माइक राखेर एकै स्वरमा भने,राष्ट्रिय स्वतन्त्र पार्टीको संख्या र सामर्थ्य पुगेको दिन प्रदेशसभा खारेज गर्ने बाला छौ ।
प्रदेशमा सयौँ सेता हात्ती पालेर आजित भएका जनताले प्रदेशसभा खारेजकै आसमा रास्वपालाई संख्या पुग्ने गरी आरीघोप्टे वर्षा गराइदिए । फलतः २१ सिटको रास्वपा ०८२ फागुन २१ को जनादेशबाट दुई तिहाइ नजिक १८२ सिटमा पुग्यो । त्यसपछि भेटमा पत्रकारले मौका छोपेर फेरि माइक मुखै नजिक पुर्याएर स्वर्णिमलाई सोधे । संख्या पुगेको दिन प्रदेशसभा खारेज गर्छौ भन्नु हुन्थ्यो ! गर्नुहुन्छ अब ? सानो स्वरमा स्वर्णिमले जवाफ दिन्छन् भनेकै छैन । अर्थशास्त्री स्वर्णिम अहिलेका विषय विज्ञ अर्थमन्त्री हुन् । तर आफूले बोलेका कुरा बोलेकै छैन भनेर सफेद झुट बोलेको देखिन्छ ।
रास्वपा र स्वर्णिमहरूप्रति जनताले ठुलो आस र भरोसा गरेका छन् । यी विद्धानविद्यताले किन दिउसै रात पार्ने गरी बोली फेरे उनै जानुन् । अहिलेको बैश्ययुगमा सार्वजनिक स्थानमा बोलेको कुरा क्यामेराको फ्रेमका कैद, र डिजिटल प्लेटफर्ममा अर्काइभ हुन्छ भन्ने हेक्का उनलाई किन नहुँदो हो । तथापि उनले झुटको सहारा लिएका छन् । यसले आस लाग्दो केटो कतै जेठाजु पर्ने हो कि भन्ने चिन्ता बढाएको छ ।
सार्वजनिक कार्यक्रममा छाती पिटेर प्रदेशसभा खारेज गर्छौ भनेका स्वर्णिम यतिमा मात्रै रोकिएका छैनन् । प्रदेशसभाकै कारण स्वर्णिम युगको ढोका बन्द भएको आशयमा उनले तत्कालीन समयका ठूलानेताहरु प्रति दोषा रोपण गरेका छन् । स्वर्णिमले ठूला पार्टीहरूले ५५० जना सांसद र मन्त्री बनाउन नसक्नेहरूलाई प्रदेशमा लगेर गाडी पार्क गरेर थन्क्याएको अभिव्यक्ति दिएका छन् ।
‘काम भन्दा कुरा ठुलो, हिँड्ने बेला खुट्टा लुलो’ भने जस्तो प्रतिपक्षमा हुँदा आलोचना गरिरहेको रास्वपा अहिले सत्तापक्षमा पुगेपछि भने प्रतिरक्षामा उभिएको छ । एकहिसावले भन्नु पर्दा अर्बौँ खर्च कटौतीको आधार बन्ने प्रदेशसभा खारेजी रास्वपाको प्राथमिकता सूचीमा परेकै छैन । यद्यपि यो संविधानसँग जोडिएको विषय भएकाले कसैको लहड वा,चाहानामा खारेज भइहाल्ने विषय पनि हैन ।
सुशासन र, आर्थिक मितव्ययितामा जोड दिएको सरकारका लागि यो नै सबैभन्दा स्वर्ण समय पनि हो । अबौंको बोझिलो खर्च कटौतीको आधार प्रदेशसभा खारेज हुनसक्छ ।, जसलाई जनताले नेता कार्यकर्ता पाल्ने भर्ती केन्द्रको रूपमा बुझ्दै आएका छन् । प्रदेशप्रति हेर्ने दृष्टिकोण नै नकारात्मक बन्दै गएको छ ।
प्रदेशसभाको स्वरूप फेर्ने हो भने पनि अब रास्वपाले अरूको मुख ताक्नु पर्ने अवस्था छैन । तर सरकारको प्राथमिकतामा यो किन परेन भन्नेमै संशय छ । चुनावताका समय झापा पुगेर भोट माग्दा अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशलाई थप बलियो र सशक्त बनाएर लाने बाचा गरेकाले कतै प्रदेशसभा खारेज गर्ने रास्वपा नेताहरूको कुरा माछोमाछो भ्यागुतो त भएको हैन भन्ने शङ्काको सुविधा मिलेको छ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रास्वपालाई अपुग दुुइतिहाइको संख्या पुर्याउने जिम्मा लिँदै तत्काल प्रदेशसभा खारेजीका लागि संविधान संशोधन गर्न आग्रह नै गरेका छन् ।
प्रदेशसभा खारेज गर्ने संकल्प गरेको रास्वपाले प्रदेशसभा खारेजीपछि सट्टा भर्नामा प्रदेशपरिषदको कल्पना गरेको छ । कतै यो काला हटाएर गोरा राख्ने वा, एमाले कांग्रेस हटाएर रास्वपाका नेता राख्ने भन्ने त हैन ? जनता यसमा पनि स्पष्ट हुन चाहेका छन् ।
के रास्वपाले दुुईतिहाई पुर्याउँदा प्रदेश खारेज हुन्छ ?
संविधानको धारा २७४ मा संविधान संशोधनबारे लेखिएको छ । जसको उपधारा १ मा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुनेगरी यो. संविधान संशोधन गर्न सकिने छैन ।’ उपधारा २ ले भनेको छ– उपधारा १ लाई संशोधन गरिने छैन । यसको स्पष्ट अर्थ के हो भने संघीय संसद्मा दुई तिहाइ बहुमत आए पनि चारवटा विषय– सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता को प्रतिकूल हुनेगरी संविधान फेर्न सकिँदैन ।
संविधानको प्रस्तावनामै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न भनिएको छ । धारा २ मा ‘सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ, जसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ’ भनिएको छ । सार्वभौमसत्ता जनतामा निहित रहने, सोको प्रयोग संविधान अनुसार हुने र धारा २७४ को उपधारा १ लाई दुई तिहाइ बहुमतले पनि संशोधन गर्न नपाइने भनिसकेपछि यही संविधानमा टेकेर दुई तिहाइ बहुमतबाटै सबैथोक हुन्छ भन्नु मनको लड्डु घिउसँग चोपेर खानु जस्तै हो । उदाहरणका लागि अहिले रास्वपासँग दुई तिहाइ बहुमत छ । तर दुई तिहाइ बहुमत आए पनि उपधारा १ अपरिवर्तनीय नै रहनेछ । एक छिनका लागि कसैले चाहेर वा नचाहेर दुई तिहाइ बहुमतले गणतन्त्र खारेज गर्न दिँदैन । त्यस्तै संघीयता वा प्रदेश संरचना खारेजीको हकमा पनि यही कुरा सत्य हो ।
संघीय संसद्मा कुनै दलले दुई तिहाइ बहुमत ल्याउँदैमा संघीयता वा प्रदेशको संरचना खारेज गर्न सक्दैन, यसमा कम्तीमा चारवटा प्रदेशको सहमति चाहिन्छ । प्रदेशले आफ्नै खारेजी गर्ने ‘मृत्युपत्र’ लाई स्वीकृति दिने परिकल्पना गर्न सकिँदैन ।एक छिनको लागि रास्वपाले संघीय संसद्मा प्रदेशसभाको संरचना परिवर्तन वा खारेज गर्ने प्रस्ताव पेस ग¥यो । दुई तिहाइ बहुमतवाला सरकारले त्यहाँ पेस गरेको विधेयक चारवटा प्रदेशले निष्क्रिय बनाइदिन सक्छन् ।
संविधानको धारा २७४ को उपधारा ७ मा भनिएको छ, ‘उपधारा ५ बमोजिमको अवधिभित्र बहुसङ्ख्यक प्रदेशसभाले त्यस्तो विधेयक अस्वीकृत गरेको सूचना संघीय संसद्को सम्बन्धित सदनलाई दिएमा त्यस्तो विधेयक निस्किए हुनेछ ।’ संविधानले प्रदेशको अधिकारलाई बलशाली रूपमा सुरक्षित बनाइदिएको छ । संविधान संशोधनका नाममा संघको दुई तिहाइ बहुमतले समेत प्रदेशको अधिकारलाई सङ्कुचन गर्न सक्दैन । त्यही भएर प्रदेश खारेजीको कुरा असम्भव जस्तै हो ।
हेर्नुहाेस् भिडियाे:–
Facebook Comments