बालेन सरकार : देशभर डोजर आतंक, भुइँमान्छेको बिचल्ली

गगनको खोजी, दुर्गाका प्रश्नै–प्रश्न

User Image जनेश ठकुल्ला | २०८३ वैशाख ५ गते १२:४३
Image of https://mayorsap.com/storage/photos/shares/sa_2.jpg

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ, जसलाई देख्दा जोसुकैको पनि मन रुन्छ । एकातर्फ डोजर चलिरहेको छ, भने अर्कोतर्फ सुरक्षा दिने जिम्मा पाएका बर्दीधारी नगर प्रहरीले एक महिलाको हातखुट्टा समातेर घाँटी निमोठिरहेको दृश्य भिडियोमा देखिन्छ ।

यो हृदयविदारक दृश्य सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० को हो । गत बुधबार दुहबी नगरपालिकाले ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काउने अभियान चलाएको थियो । घर भत्काउन सुरु गरेपछि आफ्नो ओत लाग्ने ठाउँ जोगाउन खोज्ने स्थानीय र प्रहरीबीच झडप भयो । त्यही क्रममा नगर प्रहरीले महिलामाथि निर्दयी व्यवहार गरेको दृश्यमा देखिन्छ ।

ती महिलाको गल्ती के थियो र उनलाई किन त्यसरी घाँटी निमोठियो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । तर, सामाजिक सञ्जालमा नगर प्रहरीको निर्दयी व्यवहारको चौतर्फी आलोचना भइरहेको छ । नियम पालना गराउने नाममा नागरिकको घाँटी निमोठ्ने अधिकार नगर प्रहरीलाई कसले दियो भन्दै सर्वसाधारणले प्रश्न उठाइरहेका छन् ।

अतिक्रमण हटाउने नाममा नगर प्रहरीले देखाएको व्यवहार सुरक्षाकर्मीको जस्तो नभई गुण्डागर्दी शैलीको जस्तो देखिन्छ । आफ्ना बाबुलाई नगर प्रहरीले जबरजस्ती समातेर लैजान खोज्दा साना–साना बालबालिकाहरू मेरो बुबालाई छोडिदिनुस्, बुबा आउनु न भन्दै भक्कानिएर रोइरहेका छन् । ती अबोध नानीहरूको आँसुले नगर प्रहरीको मन कति पनि पग्लिएको देखिँदैन ।

कतिपय ठाउँमा काखमा दुधे बालक बोकेका आमाहरू आफ्नो ओत लाग्ने थलो जोगाउन हारगुहार गरिरहेका छन् । हामी कहाँ जाने? हाम्रो बास नउठाइदिनुस् भन्दै बिन्ती गर्दा पनि डोजर रोकिएको छैन । घरभित्रका सामान निकाल्न समेत समय नदिई एक्कासि डोजर चलाउँदा र नगर प्रहरीले लछारपछार गर्दा दुधे बालक बोकेका महिलाहरूको कस्तो बिचल्ली भएको छ, भन्ने कुरा भिडियोमा झल्किन्छ । उनीहरू आफ्नो घर र संसार भत्किएको टुलुटुलु हेर्न बाध्य भएका छन् ।

अर्कोतर्फ, व्यापारीहरूमाथि गरिएको व्यवहार पनि टिठ लाग्दो छ । भिडियोमा देखिएअनुसार नगर प्रहरीको टोली पसलहरूमा जथाभाबी पस्ने र बाहिर राखिएका सामानहरू झ्यापझुप समातेर गाडीमा फाल्ने गरिरहेका छन् । सामान जफत गर्ने नाममा उनीहरूले व्यापारीका भाँडाकुँडा, लुगाफाटा र खानेकुरा केही पनि बाँकी राखेका छैनन् । सामान सुरक्षित तरिकाले लैजानुको साटो बाटोभरि फ्याँक्ने र कुल्चिँदै नष्ट गर्ने गरेको दृश्यहरू सार्वजनिक भएका छन् । 

आफ्नो लगानी र रोजीरोटी जोगाउन खोज्ने साना व्यापारीहरूलाई नगर प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेको छ । प्रतिवाद गर्न खोज्ने कसैको घाँटी निमोठिएको छ, भने कसैलाई भुईँमा पछारेर कुटपिट गरिएको छ । नगर प्रहरी र व्यापारीबिच ठाउँ–ठाउँमा हानाहान नै भएको देखिन्छ । कसैलाई रुखमा बाँधिएको छ, त कसैलाई लतारेर गाडीमा हालिएको छ । मानौँ, उनीहरूले कुनै ठुलो अपराध गरेर फरार भएका अपराधी हुन् ।

नगर प्रहरीको बलमिच्याइँ सुनसरीमा मात्रै सीमित छैन । उता रुपन्देहीको बुटवलमा पनि अवैध संरचना हटाउने नाममा स्थानीय प्रशासन र नगरपालिकाले आतंक नै मच्चाएको छ । बुटवलका सडक किनारामा रहेका घर र पसलहरूमा डोजर चलाएर ध्वस्त पारिएको छ । मापदण्ड विपरीतका संरचना भत्काउनु त राज्यको काम होला, तर भत्काउने शैली भने डरलाग्दो देखिन्छ ।

सामाजिक सञ्जालमा देखिएका तस्बिर र भिडियोहरूमा नगर प्रहरीले स्थानीय बस्तीका मानिसहरूलाई लछारपछार र कुटपिट गरेको दृश्य देखिन्छन् । पसिना बगाएर बनाएको घर र गरिखाने पसल आँखा अगाडि धुलोपीठो हुँदा स्थानीयको रुवाबासी चलेको छ ।

यी दुई घटना मात्र होइन, आजै बिहान वीरगन्जमा पनि उस्तै लापरबाही देखियो । वीरगन्ज महानगरपालिकाले अवैध संरचना भत्काउन डोजर चलायो, तर घरभित्र मान्छे भएकै बेला डोजर चल्न थालेपछि त्यहाँ भागदौड मच्चियो । भित्र मान्छे छन् भन्ने थाहा पाउँदा–पाउँदै पनि डोजर नरोक्नुले प्रशासन कतिसम्म गैरजिम्मेवार छ भन्ने कुरा प्रस्ट पारेको छ । थोरै मात्र तलमाथि भएको भए त्यहाँ ठुलो मानवीय क्षति हुन सक्ने प्रत्यक्षदर्शी बताउँछन् । 

अहिले देशैभरि विकास र अतिक्रमण हटाउने नाममा डोजर आतंक मच्चिएको छ । नियम कानुन सबैका लागि बराबर हुनुपर्छ, त्यसमा कसैको दुई मत छैन । तर, कानुन कार्यान्वयन गर्ने नाममा गरिबको घाँटी निमोठ्ने, मान्छेलाई रुखमा बाँध्ने र ज्यान नै जोखिममा पार्ने कामले नागरिकलाई आतंकित पारिरहेको छ । 

डोजर चल्दै गर्दा र मान्छेहरूको बिचल्ली हुँदा त्यहाँ उपस्थित केही मान्छेहरूले खुब घण्टी–घण्टी भन्थ्यौ, देख्यौ त घण्टीले गरेको? भन्दै आक्रोश पोखेको आवाज सुन्न सकिन्छ । यसको जवाफमा अर्को पक्षबाट केहीले हो, घण्टीले त गर्नु ग¥यो भन्दै बोलेको आवाज सुनिन्छ । घण्टी अर्थात् रास्वपाले सुशासन र गरिबको पक्षमा काम गर्ने बाचा गरेर निर्वाचनमा भोट मागेको थियो, आज त्यही पार्टी सरकारमा हुँदा निराशा र आक्रोश बढ्दै गएको यो संवादबाट बुझ्न सकिन्छ ।

राजनीतिमा आउनुअघि अहिलेका प्रधानमन्त्री बालेन शाहले आफ्नो र्‍याप गीतमा गरिबको चमेली बोलिदिने कोही छैन भन्दै निमुखा र सर्वसाधारणको पीडा गाउने गर्थे । त्यतिबेला बालेनका ती शब्दले थिचिएका र मिचिएका गरिबहरूको मन जितेको थियो । तर विडम्बना, तिनै बालेन आज देशको प्रधानमन्त्रीको कुर्सीमा बसिरहँदा भुइँमान्छेको बिचल्ली बनाइएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

हिजो चमेलीहरूको न्यायका लागि आवाज उठाउने बालेन आज प्रधानमन्त्री हुँदा सडकमा गरिखाने चमेलीहरूकै घाँटी निमोठिएको छ । गरिबको कोही छैन भनेर गीत गाउने मान्छे नै गरिबको छानो भत्काउन र उनीहरूलाई सडकमा पुर्‍याउन सबैभन्दा अगाडि देखिएपछि सामाजिक सञ्जालमा बालेनमाथि गरिब विरोधीको आरोप लाग्न थालेको छ । 

सुकुम्वासी बस्तीमा देशभर डोजर चल्न थालेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि मुख खोलेका छन् । उनले अहिलेको सरकारलाई फासीवादी सरकारको संज्ञा दिँदै चुपचाप घण्टी छाप भन्दै रास्वपामाथि व्यङ्ग्य प्रहार गरेका छन् । प्रसाईँले अहिलेको अवस्थामा सरकारको विरुद्ध केही बोल्नै नहुने र बोलेमा दमन सहनुपर्ने तर्क छ ।

यता, जेन–जी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसका सभापति गगन थापाको मौनतामाथि प्रश्न उठाएकी छन् । शनिवार सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै उनले अहिलेको शक्तिशाली सरकारले जनतामाथि गरिरहेको दमन र त्यसमा प्रतिपक्षको कमजोर भूमिकालाई लिएर गगनको खोजी गरेकी छन् । बालेन नेतृत्वको सरकारले सडक किनारका बासिन्दालाई हटाउन स्थानीय तहलाई दबाब दिएपछि नागरिकमाथि कुटपिट गर्ने र उठिबास लगाउने काम भइरहेकाले गगन थापाजस्तो नेताले जनताको पीडा बोल्नुपर्ने रक्षाको भनाइ छ ।

हेर्नुहोस् भिडिओ:–

 


Facebook Comments