डोजर नहान्ने बाचा गरेका रवि–बालेन कहाँ चुके?

नेताको सफेद झुट, नागरिकको चित्कार

User Image जनेश ठकुल्ला | २०८३ वैशाख ५ गते १९:५२
Image of https://mayorsap.com/storage/photos/shares/suklumbass.png

चुनावताका भोट माग्न बस्ती पसेका बेला रास्वपा सभापति रवि लामिछाने सार्वजनिक रुपमै नागरिकलाई आश्वस्त पार्दै भनेका थिए– यदि सुकुम्वासी बस्तीमा डोजर चल्यो भने, पहिला म छाती थापेर बस्छु, किन चिन्ता गर्नुहुन्छ?

निर्वाचनअघि सुकुम्वासी बस्तीमा डोजर चले आफूले छाती थाप्ने भनेको रविको त्यो भाषण अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यतिबेला उनले रास्वपाले एकल बहुमत ल्याए सुकुम्वासीलाई बलपूर्वक हटाउने नभई व्यवस्थापन गरेर समाधान निकाल्ने बताएका थिए । तिनै रवि झण्डै दुई–तिहाइ बहुमत नजिककोे शक्तिशाली पार्टीको सर्वोच्च नेता छन् ।

तर, पछिल्ला केही दिनयता देशभरका अधिकांश स्थानमा गरिबका झुपडीमा निर्मम रूपमा डोजर चल्न थालेको छ । आफ्ना घर–टहरा र ओत लाग्ने ठाउँ जोगाउन खोज्ने नागरिकमाथि समेत सुरक्षाकर्मीले बर्बरता देखाएका छन् । कसैलाई रुखमा बाँधिएको छ, कसैको घाँटी निमोठिएको छ, भने कसैलाई लछारपछार गर्दै निर्घात कुटपिट गरिएको छ । नागरिकको थातथलो तहसनहस बनाइएपछि रविको त्यो छाती कता हरायो? भन्दै प्रश्न उठ्न थालेको छ ।

रवि मात्र होइन, अहिलेका प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहको भनाइ पनि उस्तै थियो । निर्वाचनका बेला झापा क्षेत्र नम्बर ५ मा घरदैलो गर्ने क्रममा बालेनले भनेका थिए– सुकुम्वासीलाई विस्थापित गर्दिनँ, व्यवस्थित गर्छु । उनले विकास र व्यवस्थापन सँगसँगै लैजाने अठोट पनि गरेका थिए ।

चुनावअघि सुकुम्वासी बस्तीमै पुगेर कुनै पनि सुकुम्वासीलाई विस्थापित नगरी व्यवस्थित गर्ने प्रतिबद्धता जनाउने बालेन अहिले प्रधानमन्त्री बनेका छन् । तर, उनकै कार्यकालमा अझ भनौ केन्द्र सरकारकै निर्देशनमा सुकुम्वासीहरू प्रताडित हुँदै गएका पछिल्ला केही घटनाले देखाउँछ । बालेन प्रधानमन्त्री नियुक्त भएकै दिन बसेको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि १०० वटा कार्यसूची स्वीकृत गरेको थियो ।

उक्त कार्यसूचीमा सडक किनारामा रहेका अवैध घर–टहरा हटाउने विशेष अभियान चलाउने कुरा उल्लेख गरिएको थियो । साथै, देशभरका भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या एक हजार दिनभित्र स्थानीय सरकारको समन्वयमा समाधान गर्ने भनिएको छ । पछिल्ला केही दिनदेखि देशका अधिकांश स्थानमा डोजर चल्नुको मुख्य कारण सरकारको शासकीय सुधारकै रूपमा लिइएको छ । तर, अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई व्यवस्थापन नै नगरी नागरिकको उठिबास लगाइएपछि बालेन सरकारको चौतर्फी विरोध भइराखेको छ । जनताले भन्न थालेका छन् जान्नेलाई छान्ने गरिबलाई हान्ने निति रहेछ । भर्खर बुझ्दै छाैं । 

रास्वपाका सांसद खगेन्द्र सुनार पनि कहाँ कम थिए र ? निर्वाचन अघि उनले पनि भनेका थिए– जुन दिन सुकुम्वासी बस्तीमा डोजर चल्छ, त्यो दिन पहिलो लाइनमा आफैँ डोजरमुनि सुत्न तयार छु । सुकुम्वासी बस्तै हटाउँछु भनेर कोही आए अथवा सुकुम्वासी बस्तीमा डोजर चलाइए आफू डोजरमुनि गएर विरोध गर्ने बताएका उनका पुराना भिडियोहरू पुनः चर्चामा आएका छन् ।

निर्वाचनअघि यस्तो भन्ने खगेन्द्र सुनार अहिले देशका अधिकांश अव्यवस्थित बसोबासी र सुकुम्वासी बस्तीमा डोजर चलाएर घरहरू धुलोपीठो बनाउँदा समेत कतै देखिएका छैनन् । त्यस्तै, कानुनमन्त्री तथा रास्वपा सांसद सोविता गौतमले पनि निर्वाचनका बेला सुकुम्वासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने र सरकारमा गएपछि यसलाई प्राथमिकतामा राख्ने बताएकी थिइन् । उनी अहिले एकल बहुमतको सरकारमा छिन् । कानुन मन्त्रालयको बागडोर पनि उनकै हातमा छ । तर, डोचर चलाएर सुकुम्वासीका घर–टहरा भत्काएर उठिबास लगाउँदा समेत सोविताको बोल्ती खुल्न सकेको छैन ।

सरकार गठनपछि देशका विभिन्न स्थानीय तहमा सार्वजनिक जग्गा अतिक्रमण हटाउने, सडक विस्तार गर्ने र अव्यवस्थित बस्ती हटाउने अभियान सुरु भएपछि धेरै सुकुम्वासी परिवार विस्थापित भएको गुनासो बढेको छ । धेरैले नेताहरूले चुनावअघि दिएको वाचा र अहिलेको व्यवहारबीच ठूलो अन्तर देखिएको भन्दै प्रश्न उठाएका छन् । पीडित परिवारहरूले आफूहरूलाई विकल्प नदिई हटाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

जनताले नयाँ केही गर्छन् कि भनेर आशा र भरोसा गर्दै रास्वपालाई १८२ सिटसहित झन्डै दुई–तिहाइको शक्ति सुम्पिए । तर, त्यही जनमत र शक्तिको प्रयोग गरिबका झुपडी जोगाउन नभई निमुखा नागरिकको उठिबास लगाउन भइरहेको छ । संघीय सरकारको दबाबपछि ठाउँ–ठाउँमा अव्यवस्थित बसोबासी र भूमिहिन सुकुम्वासीका घर–टहरामा डोजर लगाएर भत्काउने काम भइरहेको छ ।

घर–टहरा भत्काइएका केही भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । ती भिडियोमादेखिए अनुसार, नगर प्रहरीले साना व्यापारीका सामानहरू अपराधीलाई झैँ झ्यापझुप समातेर गाडीमा फालिरहेका छन् । भाँडाकुँडा, लत्ताकपडा र खानेकुरा बाटोभरि फ्याकिएका छन् । आफ्ना बुबालाई नगर प्रहरीले लतार्दै लैजाँदा बालबालिकाहरू बुबा आउनु न भन्दै भक्कानिएर रोइरहेका छन् । काखमा दुधे बालक बोकेकी आमाले हामी कहाँ जाने? भन्दै बिन्ती गर्दा पनि नगर प्रहरीको निर्दयी पारा रोकिएको छैन ।

हुन त सडक विस्तार र अतिक्रमण हटाउनु विकासका लागि जरुरी होला, तर विकल्प नै नदिई नागरिकको उठिबास लगाइएपछि समर्थक र विरोधी दुवै पक्षले आफ्नै–आफ्नै तर्क गरेका छन् । एक पक्षले यसलाई विकास र कानुनी राज्यको अभ्यास भनेको छ, भने अर्को पक्षले सरकारले गरिबको उठिबास गरेको आरोप लगाएको छ । हिजो निर्वाचनका बेला सुशासनको आशा देखेर रास्वपामा भोट हाल्ने जनता आज आफ्नै आँखा अगाडि आफ्नो संसार भत्किएको हेर्न विवश भएका छन् । कानूनको पाना पल्टाएर फरमान जारी गर्दै गरिबको घाँटी निमोठ्छ भने, त्यो कानुन होइन, बर्बरता हो र, त्यो सभ्यता होइन, अत्याचार हो। बालेन सरकारले बुझ्न जरुरी छ।

हेर्नुहाेस् भिडियाे:–

 


Facebook Comments