गोलबजार नगरपालिकाले ल्यायो ७५ करोड ५६ लाखको बजेट, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकता

User Image मेयरसाप डेस्क | २०८३ असार ८ गते १२:३९
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-f5bb123e.jpeg

सिरहा । गोलबजार नगरपालिकाको १५औँ नगर सभा बुधबार सम्पन्न भएको छ । नगर सभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५ करोड ५६ लाख ८६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरिएको छ ।

नगर उपप्रमुख मानती कुमारी साहले प्रस्तुत गरेको बजेटअनुसार चालुतर्फ ५६ करोड २१ लाख ८६ हजार रुपैयाँ तथा पुँजीगततर्फ १९ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय तथा गत आर्थिक वर्षको मौज्दात रकमलगायत विभिन्न स्रोतबाट वित्तीय व्यवस्थापन गरिने जनाइएको छ ।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए । उनले यी क्षेत्रको विकासलाई केन्द्रमा राखेर नीति, कार्यक्रम तथा बजेट विनियोजन गरिएको जानकारी दिए । 

नगर सभाका प्रमुख अतिथि तथा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले जनप्रतिनिधिको मुख्य जिम्मेवारी नीति तथा कार्यक्रम निर्माण गर्नु र त्यसको प्रभावकारी कार्यान्वयन कर्मचारीले गर्नुपर्ने बताए । उनले प्रदेश सरकारको नयाँ नीति तथा बजेटले शिक्षा, धर्म तथा सांस्कृतिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

मन्त्री सिंहले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने प्रदेशका आठ वटै जिल्लाका पाँच–पाँच विद्यालयलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको समेत जानकारी दिए ।

जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख दिलीप लामाले गोल बजारमा २४ घण्टा सेवा दिने सरकारी अस्पतालको आवश्यकता औँल्याउँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे ।

नगर सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ तथा शुद्ध खानेपानीको दिगो व्यवस्थापनमा जोड दिएका थिए । उनीहरूले विकास निर्माणका योजनालाई दिगो र प्रभावकारी बनाउन नगरपालिकाले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए । 

मेयर श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगर सभामा प्रमुख प्रशासकीय अधिकृत रूपनारायण खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन वडा नं.६ का वडाध्यक्ष तथा नगर प्रवक्ता सञ्जित लामाले गरेका थिए ।


Facebook Comments