बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

User Image मेयरसाप डेस्क | २०८३ असार ८ गते १४:३९
Image of https://mayorsap.com/storage/photos/shares/images-1.jfif

बाजुुरा । बाजुराका ९ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन ।आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि ९ बटै स्थानीय तहले बजेट ल्याएका हुन् । ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको बाजुरा जिल्लामा सबै पालिकाले जनमुखी बटेज ल्याएका छन् ।

सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै ५१ करोड ६९ लाख १९ हजारको बजेट ल्याएको छ । नगरपालिकाले ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार समृद्ध बडिमालिकाको प्रमुख आधार’ भन्ने मुल नारा सहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।

बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ५६ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले चालु र पुँजीगत खर्चलाई सन्तुलनमा राख्दै विभिन्न दातृ निकाय, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदान एवं आन्तरिक स्रोतलाई समेटेर बजेट सार्वजनिक गरेको हो । 

सार्वजनिक विवरण अनुसार नगरपालिकाको कुल आम्दानी र खर्चको विवरण बराबर रु। ५६,५७,१४,००० रहेको छ । त्यस्तै त्रिवेणी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि कुल ५४ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ ।

बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५७ करोड ६ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । नगरसभामा प्रस्तुत बजेटमा विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय जनताको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ९८ लाख ४८ हजार रुपैयाँ चालु खर्चतर्फ तथा १९ करोड ८ लाख ४८ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा पूर्वाधार विकास, सामाजिक सुरक्षा, रोजगार सिर्जना र सुशासन प्रवद्र्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ ।

त्यस्तै गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि ४० करोड ३१ लाख २९ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगारी, सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट ल्याएको हो ।

कुल बजेट मध्ये आर्थिक विकासतर्फ ५ करोड २ लाख ८६ हजार रुपैयाँ, सामाजिक विकासतर्फ १५ करोड २० लाख २० हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ६ करोड ५० लाख ५३ हजार रुपैयाँ, सुशासन तथा सेवा प्रवाहतर्फ ९ लाख ७० हजार रुपैयाँ तथा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १३ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवी नाथले आव २०८३/८४ का लागि सभामा ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गरेकी हुन्।स्वामिकार्तिक खापर गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड १६ लाख २ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको हो ।

गाउँसभामा उपाध्यक्ष सुलोचना भण्डारीद्वारा प्रस्तुत चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाको कुल विनियोजित बजेट ३८ करोड ३ लाख ६७ हजार १६९ रुपैयाँ रहेको छ । हालसम्म उक्त बजेटमध्ये २५ करोड २८ लाख ५४ हजार १०७ रुपैयाँ ५१ पैसा निकासा भइसकेको जनाएको छ ।

त्यस्तै हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि कुल रु। ४३ करोड ६८ लाख ३९ हजार बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ २५ करोड ६८ लाख २१ हजार तथा पुँजीगत खर्चतर्फ १८ करोड १८ हजार विनियोजन गरिएको हो ।

साथै जगन्नाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३८, ६३,०१,००० रुपैयाँ (अठ्ठिस करोड त्रेसठ्ठी लाख एक हजार मात्र) को वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा विकास र प्रशासनिक खर्चलाई सन्तुलित बनाउने प्रयास गर्दै चालु र पूँजीगत खर्चको सीमा निर्धारण गरेको छ ।

बाजुराका स्थानीय तहले नागरिकहरुको आवश्यकताका आधारमा बजेट ल्याएका छन् । सबै स्थानीय तहले विशेष गरी शिक्षा,स्वास्थ,कृषि र पुर्वाधारलाई मुख्य प्राथामिकतामा राख्दै बजेट ल्याईएको बडीमालिका नगरपालिकाकी उप—प्रमुख नन्दा कुमारी थापाले बताईन् । 

उनले बडीममलिका नगरपालिकाले समेत कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै जनमुखी बजेट ल्याएको जानकारी दिईन् ।


Facebook Comments