डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय जनशक्ति परिचालन गर्दै काठमाडौं महानगर

User Image मेयरसाप डेस्क | २०८३ असार ९ गते १३:४४
Image of https://mayorsap.com/storage/photos/shares/kathmandu-mahanagarpalika-orojrkqesd.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खा याम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ । 

यो क्षमता विकासपछि केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले वडामा ५० जनालाई तालिम प्रदान गर्नुहुनेछ । महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय क्लव, टोल सुधार समिति, आमा समूह लगायतका संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ । यो तालिमपछि तालिम प्राप्त जनशक्तिलाई वडाका विभिन्न स्थान छुट््याएर डेंगी सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन हुनेछ । 

डेंगी संक्रमण दरमा कमी ल्याउने, डेंगीका कारण हुने मृत्यु दर घटाउने डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य राखिएको छ । निगरानी तथा अनुगमन प्रणाली सुधार, कीट नियन्त्रण, जोखिम सञ्चार तथा सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्व तयारी तथा प्रतिकार्य, नेतृत्व, वहुक्षेत्रीय सहकार्य र कार्यक्रम व्यवस्थापन सुधार, अनुसन्धान र नवप्रवर्तन कार्यक्रमका रणनीति हुन् । 

क्षमता विकास कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य कार्यालय काठमाडौंका अधिकारीहरुले प्रस्तुतिकरण मार्फत लक्ष्य र रणनीतिका बारेमा जानकारी गराएका थिए । 

मनसुन सुरु भएसँगै साउन महिनाबाट क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक, मंसिर महिनामा उच्च संक्रमण देखिन्छ । 


Facebook Comments