भारतका सूर्यवंशीले तोडे नेपालका कुशल मल्लको विश्व कीर्तिमान

User Image मेयरसाप डेस्क | २०८३ साउन ६ गते १३:३७
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-07-24-133542.png

नेपालका कुशल मल्लको नाममा रहेको एउटा विश्व कीर्तिमान भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले तोडेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान भारतका १५ वर्षीय युवा ब्याटर सूर्यवंशीले तोडेका हुन् । सुर्यवंशीले जिम्बावेविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नयाँ इतिहास रचेपछि क्रिकेट जगतमा उनको चर्चा चुलिएको छ।

बिहीबार हरारेमा भएको खेलमा सूर्यवंशीले मात्र १५ वर्ष ११८ दिनको उमेरमा अर्धशतक प्रहार गर्दै कुशल मल्लको नाममा रहेको ६ वर्ष पुरानो विश्व कीर्तिमान तोडेका हुन्। यसअघि कुशलले सन् २०२० मा अमेरिकाविरुद्ध १५ वर्ष ३४० दिनको उमेरमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए।

१२६ रनको सामान्य लक्ष्य पछ्याएको भारतका लागि सूर्यवंशीले सुरुदेखि नै आक्रामक ब्याटिङ प्रदर्शन गरे। उनले केवल १८ बलमै अर्धशतक पूरा गरे भने १९ बलमा ५० रन बनाउँदै ४ चौका र ४ छक्का प्रहार गरे। उनको स्ट्राइक रेट २६३.१५ रह्यो, जसले जिम्बावेका बलरहरूलाई पूर्ण रूपमा दबाबमा राख्यो।

सूर्यवंशीको यही विष्फोटक प्रदर्शनको मद्दतले भारतले जिम्बावेलाई ७ विकेटले पराजित गर्दै टी–२० शृङ्खलामा विजयी सुरुवात गरेको छ। जिम्बावेले दिएको १२६ रनको लक्ष्य भारतले १४ ओभरमै मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । नयाँ कीर्तिमानसँगै भारतीय क्रिकेटले अर्को युवा स्टार पाएको छ ।

 


Facebook Comments