रविले बोलाएको सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री–गृहमन्त्री, विपक्षी दलका नेताहरु खनिए

रविले गरे बचाउ, प्रधानमन्त्रीले भाउ खोजेको गगन थापाको आरोप, के भयो निर्णय ?

User Image मेयरसाप डेस्क | २०८३ साउन १३ गते १२:१२
Image of https://mayorsap.com/storage/photos/shares/sarbadaliya.png

सत्तारुढ दल रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङ सहभागी नभएपछि विपक्षी दलका नेताहरु आक्रोशित भएका छन् । सुनसरी घटनाको विषयलगायत समसामयिक विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा विपक्षी दलका नेताहरूले देशमा यति ठुलो संकट उत्पन्न हुँदा समेत प्रधानमन्त्री बालेन शाह र उनको नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन्।

तथापी रास्वपा सभापति लामिछानेले भने प्रधानमन्त्री र गृहमन्त्रीको बचाउ गरेका छन् । रविलाई सर्वदलीय बैठक राखेकोमा धन्यवाद दिएका नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको भने कटाक्ष गरे । उनले बैठक र सबैलाई जोड्ने प्रयास नगरेको भन्दै प्रधानमन्त्रीको भूमिकाप्रति भने प्रश्न उठाएका छन्।

उनले भनेका छन्, 'एउटा प्रश्न रास्वपा सभापतिमार्फत् सरकारलाई राखेका छौं, यतिबेला सरकार के गरिरहेको छ? सरकार कहाँ छ? सरकार केबल गोली र लाठीमा मात्र भेटिनु र स्टाटसमा मात्र सीमित रहने? सरकार भनेको अभिभावक मात्र होइन लिडर पनि हो।'

बैठकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान नहुुने भन्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सुझाव दिएका छन् । उनले पनि सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्दै प्रश्न उठाएका छन् ।

कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पनि यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग समेत छलफल गरेर अघि बढ्नुपर्नेमा त्यसतर्फ ध्यान नदिएको बताए ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीड नियन्त्रण गर्न सरकार किन असफल भइरहेको छ भन्ने विषयमा दलका नेताहरूले चासो प्रकट गरेको जानकारी दिए ।

सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित भएका छन् ।
बैठकले सुनसरी घटनाबारे सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ । 

 


Facebook Comments