जापानको कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शत्तिशाली भुकम्प जाँदा १३ जनाको मृत्यु

User Image मेयरसाप डेस्क | २०८३ साउन १३ गते १३:०७
Image of https://mayorsap.com/storage/photos/shares/photo-91b11616.png

काठमाडौं । जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएकी छन् ।

प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान १०ः३० बजेसम्म भूकम्पमा परी १३ जनाको मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुनेमध्ये केहीको मृत्यु भूकम्पसँग सम्बन्धित कारणबाट भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताइन् ।

‘कुमामोतो भूकम्पबाट मानवीय क्षति, भवन भत्किनु, आगलागी र सडकमा क्षति लगायतका व्यापक प्रभाव देखिएको छ,’ ताकाइचीले उल्लेख गरेकी छन् । उनले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेकी छन् । साथै, भूकम्प प्रभावित सबैप्रति सरकारको सहानुभूति रहेको बताएकी छन् ।

जापान सरकारले क्षतिको विस्तृत मूल्यांकन गर्दै विभिन्न मन्त्रालय र निकायबीच समन्वय गरेर आपत्कालीन उद्धार तथा राहत कार्य अघि बढाइरहेको जनाएको छ । प्रधानमन्त्री ताकाइचीले कठिन परिस्थितिका बाबजुद उद्धार कार्यमा खटिएका स्थानीय अधिकारी, प्रहरी, अग्नि नियन्त्रक, जापान कोस्ट गार्ड र आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स) का कर्मचारीलाई धन्यवाद दिएकी छन् ।

‘अझै पनि केही मानिस उद्धारको प्रतीक्षामा छन् । समय अत्यन्त महत्वपूर्ण छ । सकेसम्म धेरैको जीवन बचाउन सबै स्रोत परिचालन गरिनेछ,‘ उनले भनिन् । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक गर्मी रहेकाले उद्धारकर्मी र प्रभावित नागरिकलाई गर्मीबाट जोगिन जापानी सरकारले आग्रह गरेको छ ।

प्रधानमन्त्री ताकाइचीले उद्धार र पुनःस्थापना कार्यमा संलग्न सबैले तातो मौसममा सावधानी अपनाउनुपर्ने बताएकी छन् । सरकारले प्रभावित क्षेत्रमा विद्युत् र खानेपानी सेवा पुनःस्थापना गर्ने काम अघि बढाएको छ । जापानी आत्मरक्षा बलले खानेपानी वितरण र बिरामीको उद्धार तथा स्थानान्तरणमा सहयोग गरिरहेको छ ।

यस्तै, राहत शिविरमा खाना, पिउने पानी, कार्डबोर्ड बेड, ट्वाइलेट पेपर, एयर कन्डिसनर र जेनेरेटरलगायत अत्यावश्यक सामग्री पु¥याउने काम भइरहेको सरकारले जनाएको छ । यसअघि भूकम्पपछि क्युशु द्वीपको दक्षिणपश्चिम क्षेत्रमा पर्ने काशिमा सहरस्थित एयोन मलमा विस्फोट भएको थियो । विस्फोटमा दुई महिलाको मृत्यु भएको र एक महिला अचेत अवस्थामा भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका थिए ।

जापानी समाचार संस्था क्योदो न्युजका अनुसार विस्फोटको कारण ग्यास चुहावट भएको हुन सक्ने आशंका गरिएको छ । घटनास्थलबाट सुरुमा १० जना बेपत्ता रहेको जानकारी दिइएको थियो । जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले उद्धार तथा राहत कार्यका लागि करिब ३ हजार ६ सय आत्मरक्षा बलका सदस्य परिचालन गरिएको बताएका छन् ।

उनीहरूले आपत्कालीन उद्धार टोलीसँग मिलेर प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य गरिरहेका छन् । प्रधानमन्त्री ताकाइचीले बुधबार दिउँसो दोस्रो आपत्कालीन विपद् व्यवस्थापन मुख्यालय बैठक बोलाएर पछिल्लो अवस्थाको समीक्षा गर्ने र राहत तथा पुनःस्थापना कार्यलाई तीव्र बनाउने बताएकी छन् । 


Facebook Comments