विराटनगरका व्यवसायी मुन्दडाको घरमा १२ गाडि प्रहरी, ५ घण्टा लामो छापा, के भेटियो?

User Image मेयरसाप डेस्क | २०८३ साउन १८ गते १३:३३
Image of https://mayorsap.com/storage/photos/shares/images-3.jfif

विराटनगरका उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले सोमबार बिहान करिब ५ घण्टा लामो खानतलासी गरेको छ।

अवैध रूपमा ठूलो परिमाणमा नगद राखिएको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोली बिहानै ५ बजे विराटनगर–७ स्थित मुन्दडाको निवास र कार्यालय पुगेको थियो।

प्रहरी टोली पुगेपछि मुन्दडाको घर आसपासको क्षेत्रलाई केही समय नियन्त्रणमा लिइएको थियो। गोल्छा चोकतर्फको मेन रोडदेखि जिल्ला प्रशासन कार्यालयतर्फको क्षेत्रसम्म सर्वसाधारणको आवतजावतमा रोक लगाइएको थियो।

खानतलासीका लागि प्रहरीका १२ वटा गाडी मुन्दडाको निवास अगाडि परिचालन गरिएको थियो। प्रहरीले घरका विभिन्न कोठा, कार्यालय, दराज, बाकस लगायतका स्थानमा सूक्ष्म रूपमा खोजी गरेको जनाएको छ।

प्रकाश मुन्दडा लामो समयदेखि अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोप लाग्दै आएको थियो। यही विषयमा अनुसन्धानका लागि प्रहरी टोलीले उनको घर र कार्यालयमा छापा मारेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले ठूलो घर र कार्यालय सँगै रहेकाले खोजी गर्न केही समय लागेको जानकारी दिए । तर अनुसन्धानका क्रममा कुनै अवैध वस्तु वा सामान फेला नपरेपछि प्रहरी टोली फर्किएको उनले जानकारी दिए।

करिब ५ घण्टासम्म चलेको खानतलासीपछि बिहान ९ बजेर ३४ मिनेटमा प्रहरी टोली मुन्दडा निवासबाट बाहिरिएको थियो। प्रहरीसँगै उद्योगी वेणीगोपाल मुन्दडा र प्रकाश मुन्दडा पनि बाहिरिएका थिए।

खानतलासीपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रकाश मुन्दडाले प्रहरीले बिहान ५ बजे पुर्जी देखाएर घर आएको र सबै ठाउँमा खोजी गरेको बताए। उनले घरका कोठा, भान्सा, बैठक, शयन कक्षदेखि दराज र बाकससम्म जाँच गरिएको तर कुनै गैरकानुनी वस्तु नभेटिएको दाबी गरे।

मुन्दडाले प्रहरीले केही नभेटेपछि फर्किएको र आफूलाई क्लिनचिट दिएको जस्तो भएको बताएका छन्।

 


Facebook Comments