म्यान्मारमा ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’: नेपालको प्रतिनिधित्व गर्न प्रतिक्षा थापा प्रस्थान

User Image मेयरसाप डेस्क | २०८३ साउन २० गते १३:१६
Image of https://mayorsap.com/storage/photos/shares/photo-5cbee6af.jpeg

काठमाडौं । मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल–२०२६ प्रतिक्षा थापा प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्राण्ड इन्टरनेशनल–२०२६’ मा नेपालको प्रतिनिधित्व गर्न बुधवार म्यान्मार प्रस्थान गरेकी छिन् । बिहीवार आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ उडेकी हुन् ।

म्यान्मार प्रस्थानअघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिक्षाले विश्वका विभिन्न देशका विवाहित महिलाबीच हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालको संस्कृति, परम्परा, मौलिकता, सौन्दर्य, आत्मविश्वास तथा महिला सशक्तीकरणको सन्देश अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने बताइन् । प्रतियोगितामा सहभागी हुन उनीसँगै मिसेस ग्राण्ड इन्टरनेशनल नेपालकी नेशनल डाइरेक्टर ओशिमा बानु पनि म्यान्मार प्रस्थान गरेकी छिन् ।

आयोजकका अनुसार प्रतिक्षाले प्रतियोगिताको तयारीका लागि लामो समयदेखि रनवे प्रशिक्षण, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, फिटनेस, स्टाइलिङ, फोटोसुट तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिम पूरा गरेकी छिन् । उनी आत्मविश्वासका साथ नेपालको प्रतिनिधित्व गर्न पूर्ण रूपमा तयार रहेको आयोजकको विश्वास छ ।

प्रतिक्षाले आफूलाई केवल एक प्रतियोगीका रूपमा नभई नेपाली महिलाको साहस, क्षमता, आत्मविश्वास र दृढ संकल्पको प्रतिनिधिका रूपमा प्रस्तुत गर्ने बताएकी छिन् । उनले प्रतियोगिताका क्रममा नेपालको राष्ट्रिय झण्डा, कला, संस्कृति, परम्परा तथा नेपाली महिलाको प्रतिभालाई विश्वसामु गर्वका साथ प्रस्तुत गर्ने तयारी गरेकी छिन् ।

उनको सहभागिताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थितिलाई अझ सशक्त बनाउनुका साथै उमेरभन्दा आत्मविश्वास, मेहनत, लगनशीलता र निरन्तर प्रयास नै सफलताको प्रमुख आधार हुने सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । 

प्रतिक्षाको म्यान्मार यात्राको अवसरमा उनका परिवार, शुभेच्छुक, हाउस अफ फेसन नेपाल पेजेन्ट समुदाय तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले सफल प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै मिसेस ग्राण्ड इन्टरनेशनल–२०२६ मा उत्कृष्ट प्रदर्शनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिष्ठा अझ उचो बनाउने विश्वासका साथ प्रतिक्षालाई सर्वत्र सफलताको शुभकामना व्यक्त गरिएको छ ।


Facebook Comments