कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए, शुक्रबारदेखि थिए सम्पर्कविहीन

User Image मेयरसाप डेस्क | २०८३ साउन २४ गते १२:५५
Image of https://mayorsap.com/storage/photos/shares/kiran-singh.jpg

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेका छन् । शुक्रबारदेखि सम्पर्कविहीन रहेका ६५ वर्षीय सिंहको खोजी गर्ने क्रममा आइतबार जंगलको बीच भागमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार सिंहको खोजीमा खटिएको टोलीले जंगलको बीच भागमा शव फेला पारेको हो । सिंहले प्रयोग गर्ने मोटरसाइकलसमेत जंगलमै भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निस्किएका थिए । त्यसको करिब डेढ घण्टापछि, साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरेर ‘जंगलमा बाटो बिर्सिएको’ बताएका थिए ।

त्यसपछि आफन्तसहितको टोली सिंहको खोजीमा जंगलतर्फ गएको थियो । खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने मोटरसाइकल रोकिएको अवस्थामा फेला परेको थियो ।

सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएपछि प्रहरी, स्थानीय तथा आफन्तले निरन्तर खोजी गरिरहेका थिए । स्थानीयका अनुसार सिंह आफ्नो समूहले सञ्चालन गर्दै आएको कृषि फार्मतर्फ जाने क्रममा जंगलमा पुगेका थिए । छोटो बाटो पर्ने भन्दै उनले जंगलको बाटो प्रयोग गरेको र सोही क्रममा बाटो हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


Facebook Comments