होर्मुजमा फेरि बढ्यो तनाव, कार्गो जहाजमाथि अमेरिकाको मिसाइल, विश्वव्यापी आपूर्ति प्रणाली प्रभावित
के हुँदैछ पश्चिम एसियामा?
मेयरसाप डेस्क
|
२०८३ साउन २७ गते १३:३५
इरानमाथि जारी अमेरिकी–इजरायली युद्धका बीच अमेरिकाले पानामाको झन्डा बोकेको एक कार्गो जहाजमा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरेको छ।
इरानी नाकाबन्दी तोडेर बन्दरगाहतर्फ अघि बढेको उक्त जहाजलाई चेतावनी दिँदा पनि निर्देशन नमानेपछि स्टेयरिङ प्रणालीमा क्षेप्यास्त्र प्रहार गरिएको अमेरिकी सेनाले जनाएको छ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अहिलेसम्म ५५ वटा व्यावसायिक जहाजलाई बाटो परिवर्तन गर्न लगाइएको छ भने तीनवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटामा सैनिक प्रवेश गरी नियन्त्रणमा लिइएको छ।
यससँगै विश्वकै प्रमुख तेल तथा व्यापारिक जलमार्गमध्ये एक स्ट्रेट अफ होर्मुजमा तनाव थप बढेको छ। इरानले युद्ध र नाकाबन्दी अन्त्य, रोक्का गरिएका सम्पत्ति फुकुवा तथा युद्धविराम नभएसम्म होर्मुज नखोल्ने अडान राखेको छ।
यता होर्मुजबाट व्यावसायिक जहाजको आवतजावत पुनः सुरु गराउन कतार, ओमान र पाकिस्तानले कूटनीतिक पहल तीव्र बनाएका छन्।
उता बाब अल–मन्देबमा पनि हुथी आक्रमणको दाबीपछि तनाव बढेको छ। पश्चिम किनारामा पनि हिंसा जारी रहँदा मध्यपूर्वको समुद्री व्यापार र विश्वव्यापी आपूर्ति प्रणालीमाथि थप दबाब परेको छ।
Facebook Comments