रवि चीन जाने पक्का, के हुन्छ राष्ट्रपति सी सँगको भेट ? यस्तो छ कार्यतालिका
मेयरसाप डेस्क
|
२०८३ साउन २७ गते १३:४५
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। लामिछानेले अगस्ट २३ देखि ३० अर्थात् भदौ ७ देखि १४ गतेसम्म चीन भ्रमण गर्ने तयारी भएको उनी निकट एक नेताले बताएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको यो लामिछानेको पहिलो चीन भ्रमण हो।
भ्रमणको सबैभन्दा चासोको विषय भने चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हुने भनिएको भेट हो। तर, प्रारम्भिक कार्यतालिकामा लामिछानेको सीसँग भेट हुने कार्यक्रम छैन। चीनको प्रोटोकलअनुसार राष्ट्रप्रमुखले राष्ट्रपति वा सरकार प्रमुखसँग मात्रै भेटवार्ता गर्ने भएकाले सीसँगको भेट असम्भव भएको अधिकारीहरूको भनाइ छ।
बरु बेइजिङमा लामिछानेले चिनियाँ उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट गर्ने कार्यक्रम लगभग तय भएको छ। उनको पहिलो भेट भने चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुनेछ। उनकै निमन्त्रणामा लामिछाने चीन जान लागेका हुन्। लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्, जसमा उनकी पत्नी निकिता पौड्याल पनि रहनेछिन्।
बेइजिङपछि लामिछानेको टोली तिब्बत हुँदै कैलाश मानसरोवरसम्म पुग्ने कार्यक्रमसमेत तय भएको छ।
यसअघि लामिछानेले सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमण गरेका थिए। त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च भारतीय अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।
Facebook Comments