एनपिएलका लागि लुम्बिनी लायन्सले फेरि ल्यायो श्रीलंकाका डिक्वेला

अघिल्लो सिजनमा ६ खेल जिताउँदै बनाएका थिए च्याम्पियन, यस पटक पनि उपाधि जित्ने दाउ

User Image मेयरसाप डेस्क | २०८३ साउन २९ गते १३:२६
Image of https://mayorsap.com/storage/photos/shares/dikwale.png

लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिक्वेलासँगको सम्झौतालाई निरन्तरता दिएको छ। योसँगै नेपाल प्रिमियर लिग एनपिएलको आगामी सिजनमा डिक्वेला फेरि च्याम्पियन लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्।

गत सिजन डिक्वेला टोलीमा जोडिँदा लुम्बिनी संकटमा थियो। समूह चरणका चार खेल सकिँदा लुम्बिनीले तीन खेल गुमाइसकेको थियो। तर डिक्वेला टोलीमा आएपछि भने लुम्बिनीले बाँकी सबै ६ खेल जित्दै उपाधि नै आफ्नो पोल्टामा पारेको थियो ।

डिक्वेलाले ६ खेलमा १२२ भन्दा माथिको स्ट्राइक रेटमा १३७ रन बनाए। उनको ब्याटिङ औसत ३४ दशमलव २५ थियो, जुन लुम्बिनीका खेलाडीमध्ये सबैभन्दा उत्कृष्ट थियो। पोखरा एभेन्जर्सविरुद्ध २२ बलमा ३७ रन बनाउनु उनको एनपिएलको सर्वाधिक स्कोर बन्यो। विराटनगरसँगको खेलमा २२ बलमा अविजित २९ रन तथा दोस्रो क्वालिफायरमा पनि २२ बलमा २९ रन बनाएर टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए ।
फाइनलमा पनि उनले १२ बलमा अविजित ११ रन बनाएका थिए।

३३ वर्षीय डिक्वेला हाल श्रीलंकाको लंका प्रिमियर लिगमा दम्बुला सिक्सर्सबाट खेलिरहेका छन्। उनले श्रीलंकाका लागि ५४ टेस्ट, ५५ एकदिवसीय र २८ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्।

अब एनपिएलको आगामी सिजनमा च्याम्पियन लुम्बिनीले आफ्नो उपाधि रक्षा गर्ने लक्ष्य राख्दा डिक्वेला फेरि टोलीको महत्वपूर्ण हतियार बन्नेछन्।


Facebook Comments