३५ वर्षपछि बंगलादेशमा राष्ट्रपतिको चुनाव, सत्तारूढ बीएनपी र जमात गठबन्धन आमनेसामने

परिणाम सत्तारुढ दलकै पोल्टामा पर्ने अपेक्षा, संसद्भित्रै हुने भिडन्तले बढायो राजनीतिक चासो !

User Image मेयरसाप डेस्क | २०८३ भदौ ०४ गते १२:३२
Image of https://mayorsap.com/storage/photos/shares/bangladesh_1.jpg

बंगलादेशमा ३५ वर्षपछि पहिलो पटक प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन हुँदैछ। देशको २३औँ राष्ट्रपति चयनका लागि बिहीबार संसद् भवनमा सांसदहरूले मतदान गर्दैछन्। सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी अर्थात् बीएनपीका उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर र बंगलादेश जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनका उम्मेदवार अवकाश प्राप्त कर्नेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ।

निर्वाचनमा ३४९ सांसदले मतदान गर्न पाउनेछन्। दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने त्यसलगत्तै मतगणना गरेर परिणाम सार्वजनिक गरिनेछ। 

बंगलादेशमा पछिल्लो पटक सन् १९९१ मा एकभन्दा बढी उम्मेदवारबीच राष्ट्रपतीय निर्वाचन भएको थियो। त्यसपछि भएका सबै राष्ट्रपतीय निर्वाचनमा संसद्मा बहुमत प्राप्त दलले समर्थन गरेका उम्मेदवार निर्विरोध राष्ट्रपति बन्दै आएका थिए।

१९९१ मा बीएनपीका अब्दुर रहमान विश्वासले अवामी लिगका उम्मेदवार बदरुल हैदर चौधरीलाई पराजित गरेका थिए। त्यसपछि भने राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धाको दृश्य देखिएको थिएन्।

सन् १९९६ देखि २०२३ सम्म शाहाबुद्दिन अहमददेखि मोहम्मद शाहाबुद्दिनसम्मका राष्ट्रपति निर्विरोध निर्वाचित भएका छन् ।

यसपटक भने परिस्थिति बदलिएको छ। सत्तारूढ बीएनपीसँग संसद्मा स्पष्ट बहुमत रहेकाले मिर्जा फखरुलको जितको सम्भावना बलियो देखिन्छ। संविधानको धारा ७० का कारण पनि परिणाममा ठूलो उलटफेर हुने सम्भावना न्यून छ। दलको उम्मेदवारका रूपमा निर्वाचित सांसदले पार्टीको निर्णयविपरीत मतदान गरे सांसद पद गुमाउन सक्ने व्यवस्था छ।

तर ३५ वर्षपछि संसद्भित्रै राष्ट्रपतिको पदका लागि दुई उम्मेदवार आमनेसामने हुनु बंगलादेशको लोकतान्त्रिक अभ्यासका लागि भने निकै ठूलो घटना मानिएको छ।

यो निर्वाचनले राष्ट्रपतिको परिणाम मात्रै होइन, बंगलादेशमा राजनीतिक प्रतिस्पर्धा र संसदीय लोकतन्त्र कत्तिको जीवन्त छ भन्ने प्रश्नको जवाफसमेत दिनेछ।

अर्थात्, राष्ट्रपति को बन्ला भन्ने अनुमान लगभग स्पष्ट भए पनि ३५ वर्षपछि भएको यो चुनावी भिडन्तले बंगलादेशको राजनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।


Facebook Comments