स्थलमार्गबाट पोखरा हानिए बालेन, मुस्ताङ उड्न भिआइपी हेलिकप्टर स्ट्यान्डबाइ
सुरक्षा निकायलाई छैन अत्तोपत्तो, प्रधानन्यायाधीश पनि पोखरा पुगेपछि उब्जियो आशंका
मेयरसाप डेस्क
|
२०८३ भदौ ०५ गते १२:४८
प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पोखरा प्रस्थान गरेका छन् । मुस्ताङ जाने योजना बनाएर शुक्रबार बिहानै काठमाडौँबाट स्थलमार्गमा सरकारी गाडी गुडाउँदै बालेन पोखरा प्रस्थान गरेका हुन् । अचम्मको कुरा के छ, भने प्रधानमन्त्री राजधानी छाडेर कता जाँदैछन् र सुरक्षा कसरी मिलाउने भन्नेबारे स्थानीय सुरक्षा निकाय बेखबर देखिएको छ ।
कास्की प्रहरीका अनुसार, प्रधानमन्त्रीको पोखरा प्रस्थानबारे प्रधानमन्त्री कार्यालयबाट कुनै खबर नआएको र गृह मन्त्रालयबाट पनि कुनै औपचारिक जानकारी भएको छैन । उता मुस्ताङ प्रहरीलाई पनि प्रधानमन्त्री आउँदैछन् भन्नेबारे केही अत्तोपत्तो छैन । सुरक्षा निकायलाई कुनै सुइँको नदिई हिँडेका प्रधानमन्त्री बालेन शाह पोखरामा अन्नपूर्ण रिसोर्टमा रात बिताउने तालिका रहेको बुझिएको छ ।
मुस्ताङ उड्नको लागि पोखरा विमानस्थलमा अगुस्टा कम्पनीको भिआइपी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । यो त्यही हेलिकप्टर हो, जुन गत वर्ष भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भीडको आक्रमणमा परेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उद्धार गर्न जाँदा ढुङ्गामुढाबाट ब्लेड भाँचिएको थियो । अहिले मर्मत भइसकेको त्यही हेलिकप्टर बालेनका लागि स्ट्यान्डबाइ राखिएको बताइन्छ ।
प्रधानमन्त्री पोखरा पुग्नुभन्दा केही घण्टाअघि शुक्रबार बिहानै सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मा पोखरा पुगिसकेका छन् । शर्माले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका पोखराका अदालत भवनहरूको निरीक्षण गरेका छन् । सरकारभित्रै अनेकौँ राजनीतिक उल्झनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री र प्रधानन्यायाधीश दुवै जना एकैदिन पोखरा पुग्नुले शंसय पैदा गरेको छ । यद्यपि, पोखरामा प्रधानमन्त्री र प्रधानन्यााधीशबिच भेटघाट हुन्छ कि हुँदैन भन्ने खुलेको छैन ।
Facebook Comments