विराटनगर महानगरका सामुदायिक विद्यालयमा विज्ञसहितको अनुगमन समिति


सामुदायिक विद्यालयहरुको अवस्था अनुगमन गर्न विराटनगर महानगरपालिकाले विज्ञसहितको अनुगमन समिति गठन गरेको छ ।
विराटनगर महानगरको शिक्षा समिति मातहतमा रहने गरी गठन गरिएको अर्को समिति अनुगमन समितिले पछिल्लो दुई दिनमा नगर क्षेत्रका ६ वटा सामुदायिक विद्यालयहरुको अनुगमन गरेको छ । अनुगमनबाट पठनपाठनको अवस्था, अध्यापनको गुणस्तर, विद्यालयको भौतिक पूर्वाधारको अवस्था र भर्ना भएका विद्यार्थीहरु परीक्षामा सहभागी भए नभएको बारेमा जानकारी प्राप्त हुने विराटनगर महानगरपालिका शिक्षा शाखाका प्रमुख कृष्ण भट्टराईले बताए । उनका अनुसार अनुगमनबाट प्राप्त हुने सुझावका आधारमा आगामी दिनमा सामुदायिक विद्यालयहरुको सुधारका लागि योजना बनाइने छ ।
पछिल्लो दुई दिनमा समितिले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहाको अनुगमन गरेको छ ।
समितिले टोलीलाई समग्र सामुदायिक विद्यालयको भौतिक अवस्था तथा शैक्षिक गुणस्तरका बारेमा अध्ययन विश्लेषण गर्ने, विद्यालय सुधारका उपाय पहिल्याउने, सिकाई उपलब्धि बढाउनका लागि आवश्यकताका आधारमा विज्ञसमेत परिचालन गर्नुपर्ने भए सुझाव दिने तथा कमजोरी गर्ने शिक्षक कर्मचारीहरुलाई कारवाही सिफारिस गर्नेसम्मको अधिकार समितिलाई दिएको छ ।