पोखरा महानगरमा सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु


पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म करिब पाँच सय मिटरभन्दा बढी दूरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ ।
पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार तथा चक्ला भइरहेको छ । उक्त सडकको भत्केको चौकीदेखि कोत्रेपुलसम्म सडक मापदण्ड ८२ फिटभित्र सडकदेखि दायाँबायाँ घर अगाडि विभिन्न सरसामान राखिएको तथा अस्थायी संरचना निर्माण गरिँदा पैदल यात्रुलाई हिँडडुल गर्न कठिनाइ भएकाले त्यस क्षेत्रका संरचना हटाउन थालिएको हो ।
यसअघि नै संरचना हटाउन वडा कार्यालयले गत जेठ ३० गते सूचना जारी गर्दै प्रत्येक घरधनीहरूले आ–आफ्नो घर अगाडि मापदण्डमा पर्ने सरसामान, खेती तथा टहरा सूचना जारी भएको मितिले १५ दिनभित्र हटाई मानिस हिँडडुल गर्न सहज बनाउन अनुरोध गरेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।