Ad Image

मेयर्स फोरमले प्रधानमन्त्री भेटेर भन्यो– विजुलीको पैसा तिर्दैनौं, लाइन काटे प्रतिवाद

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1723038186.jpg

काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सडक विद्युत महसुलको विवाद सुल्झाइदिन आग्रह गरेको छ ।

 

मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर प्राधिकरणले मनलाग्दी रुपमा विद्युतको विल पठाएकोले सोको भुक्तानी गर्न नसक्ने जानकारी गराएको हो । आफूहरुसँग स्रोत साधन कम भएको र विनाआधार प्राधिकरणले ‘लमसम’मा विल पठाउने गरेकोले गत आर्थिक वर्षसम्मको विल आफूहरुले नतिर्ने जानकारी प्रधानमन्त्रीलाई गराइएको फोरम अध्यक्ष महर्जनले जानकारी दिए ।

 

‘प्राधिकरणले हामीलाई पठाएको सडक बत्तीको विल छेउ न टुप्पोको छ । लमसममा यति करोड र उति करोड तिर भनिएको छ । आर्थिक वर्ष २०८०र८१ सम्मको विल हामी तिर्दैनौं । हामीले प्रधानमन्त्रीज्यूलाई यही भनेका हौं,’ ललितपुर महानगरको मेयरसमेत रहेका फोरम अध्यक्ष महर्जनले भने । उनले चालु आर्थिक वर्षदेखिको विल तिर्न आफूहरु तयार रहेको बताए । तर, यसमा पनि स्थानीय तहहरुले कुल महसुलको ६० प्रतिशत तिर्ने र बाँकी ४० प्रतिशत संघीय सरकारले तिर्नुपर्ने उनको भनाइ छ ।

 

‘काठमाडौँ उपत्यकामा ८ मिटरभन्दा फराकिला सडक संघीय सरकार अन्तरगत पर्दछन् । प्राधिकरणले ती सडकको महसुल पनि हामीलाई तिराउन खोजेको छ । ती सडकमा पनि बत्ती बलेका छन् । त्यसैले ४० प्रतिशत महसुल संघीय सरकारले तिर्नुपर्छ भनेका हौं,’ अध्यक्ष महर्जनले भने ।