प्रहरीको ३४औँ आईजीपी बने मनोज केसी, गृहमन्त्रीले लगाइदिए फुली

User Image मेयरसाप डेस्क | २०८३ कात्तिक १८ गते १८:५०
Image of https://mayorsap.com/storage/photos/shares/manoj-kc-sudhan-gurung-cover.jpg

काठमाडौं । नेपाल प्रहरीको नेतृत्वमा फेरबदल गर्दै सरकारले एआईजी डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख रहेका केसीलाई प्रहरीको ३४औँ महानिरीक्षक बनाउने निर्णय गरेको हो। नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न (फुली) प्रदान गरेका छन्।

सरकारले यसअघि आईजीपी रहेका दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ। कार्कीको कार्यकाल अझै करिब डेढ वर्ष बाँकी रहँदै सरकारले नेतृत्व परिवर्तन गरेको हो। रोचक पक्ष के छ भने आईजीपी नियुक्तिमा सरकारले दोस्रो वरीयताका एआईजी राजन अधिकारीलाई समेत पछि पार्दै तेस्रो वरीयतामा रहेका केसीलाई जिम्मेवारी दिएको छ।

केसी र कार्की एउटै ब्याचका प्रहरी अधिकृत हुन्। दुवै जना २८ चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। तर एआईजीमा बढुवा हुँदा केसी तेस्रो वरीयतामा थिए। पहिलो वरीयतामा कार्की र दोस्रोमा राजन अधिकारी थिए। कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै सरकारले केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको हो।

प्रहरी सेवामा केसीको करिब २८ वर्षको अनुभव छ। उनी २६ मंसिर २०६६ मा डीएसपी, १९ साउन २०७४ मा एसपी, ३ साउन २०७९ मा एसएसपी, १३ जेठ २०८१ मा डीआईजी र ११ वैशाख २०८२ मा एआईजीमा बढुवा भएका थिए।

अपराध अनुसन्धानमा उनको भूमिका विशेष चर्चामा आएको थियो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको प्रकरणको अनुसन्धान केसीकै नेतृत्वमा अघि बढेको थियो। उनी अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहँदा यो प्रकरणको अनुसन्धानले गति लिएको थियो। संयोगवश, उक्त प्रकरणमा मुद्दा अघि बढाउने जिम्मेवारी भने अहिले आईजीपीबाट हटाइएका दानबहादुर कार्कीले सम्हालेका थिए।

केसीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहँदा नक्कली उद्धार अर्थात् फेक रेस्क्यु ठगी, स्मार्ट टेलिकम ठगी, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी अपराध र सरकारी जग्गा अतिक्रमण तथा हिनामिनासम्बन्धी अनुसन्धानको नेतृत्व गरेका थिए। उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी एकेडेमी, विशेष ब्युरो, अपराध अनुसन्धान विभाग तथा विभिन्न जिल्ला प्रहरी कार्यालयमा समेत जिम्मेवारी सम्हालेका छन्।

शैक्षिक रूपमा पनि केसीको पृष्ठभूमि फराकिलो छ। उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। सोही विश्वविद्यालयबाट व्यवहारिक द्वन्द्व रूपान्तरणमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र जनप्रशासनमा उच्च शिक्षा हासिल गरेका छन्। नेपाल प्रहरीमा पहिलोपटक सुरु गरिएको स्टाफ कलेजका संस्थापक निर्देशकसमेत रहेका उनले प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा भूमिका खेलेका थिए।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा समेत काम गरेका केसी फ्रान्सेली र स्पेनी भाषामा दख्खल राख्छन्। उनले संगठित अपराध र द्वन्द्वपछिको काठमाडौंमा प्रभावकारी अपराध नियन्त्रणका उपायसम्बन्धी दुई पुस्तकसमेत लेखेका छन्।

यसैबीच, नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परामा पनि यसपटक फरक दृश्य देखिएको छ। विगतमा अवकाशमा जान लागेका आईजीपीले नयाँ आईजीपीलाई फुली लगाइदिने चलन थियो। पछि यो जिम्मेवारी गृहसचिवले सम्हाल्दै आएका थिए। तर यसपटक गृहमन्त्री गुरुङ आफैँले केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

प्रहरी इतिहासमा यसअघि गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई आईजीपीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। त्यसपछि लामो समय गृहसचिवबाट फुली लगाइदिने अभ्यास चल्दै आएको थियो। गृहमन्त्री गुरुङले यसअघि प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा नयाँ आईजीपीलाई प्रधानमन्त्रीले नै फुली लगाउने व्यवस्था गर्न पहल गर्ने बताएका थिए। तर यसपटक उनले स्वयं दर्ज्यानी चिह्न प्रदान गरेका छन्।


Facebook Comments