पाटन नगरपालिकामा हरियो धनियाँमा दुई रुपियाँ कर


पाटन नगरपालिकाले मुख्य सडक अनारखोलीमा ढाट राखेर हरियो धनियाँ बेच्दा दुई रुपियाँ प्रतिकिलो निकासी कर लिन सुरु गरेको छ । पालिकाबाहिर बिक्री हुने धनियाँ, लसुन, प्याजलगायत आलु निकासी कर लिन थालेपछि किसान मर्कामा परेका छन् ।
नगरपालिकाले मसलाजन्य तरकारीमा दुई रुपियाँ र सबै प्रकारका तरकारी रायो, बन्दा, आलु र काउलीमा प्रतिकिलो एक रुपियाँ कर लिन थालेको हो । आलुको उचित मूल्य नपाएको गुनासो किसानको छ । नगरपालिकाले तरकारीमा कर लिन सुरु गरेपछि प्रतिकिलो ४० रुपियाँमा बिक्री हुँदै आएको बन्दाको ३५ रुपियाँमा झरेको पाटन नगरपालिका–९ का अगुवा किसान मोहन बिजलेले बताए।
शीतभण्डार नहुँदा किसानले उत्पादन गरेको तरकारी बारीमा सड्ने अवस्था आएको छ । सरकारले बनाउने भनेका तीन वटा शीतभण्डार सात वर्षदेखि अलपत्र छन् । डडेलधुरा–बैतडी जोड्ने अनारखोलीमा ढाट राखेर लसुन, धनियाँ र सबै खालका तरकारीलगायत खसी, बोका, राँगा–भैँसी, गोरु र वन पैदावारमा कर लिन सुरु गरेको पालिकाले जनाएको छ ।
राजस्व परामर्श समितिले तरकारी, दलहन बाली, पशु र वन पैदावरमा निकासी कर निर्धारण गरेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए । निर्धारण गरिएको करको दर अनुसार धनियाँलगायत मसलाजन्य तरकारीको दुई रुपियाँ, प्रतिखसीको ६० रुपियाँ, राँगा, गोरुको पाँच सय, भैँसीको छ सय रुपियाँ कर लिन सुरु गरिएको छ ।