हेटौंडा उपमहानगर-८ मा वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने


हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा आगामी भदौ २९ गतेदेखि असोज ५ गतेसम्म वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको यो प्रतियोगिता नेपाल खेलकुद महासंघ वडा नं. ८ द्वारा श्री चन्द्रोदय माध्यमिक विद्यालय, हेटौंडा–८ को खेल मैदानमा हुनेछ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वडाका २० देखि २२ वटा क्रिकेट टिमहरूको सहभागिता रहने अनुमान गरिएको छ। खेलमा प्रथम हुने टोलीलाई नगद रु. ५० हजार, द्वितीय हुने टोलीलाई रु. २५ हजार, उत्कृष्ट मार्च पास गर्ने टिमलाई विविध पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ।
खेल संयोजक धर्मराज पुडासैनीले उत्कृष्ट खेलाडी तथा लामो समयदेखि खेल क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मानपत्र वितरण गरिने जानकारी दिए। प्रतियोगिता सञ्चालनका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने प्रत्येक टिमलाई इन्ट्री शुल्क बापत रु. ५ हजार लाग्ने आयोजकले जनाएको छ।