१३ वर्षदेखि प्रयोगविहीन शीतभण्डारको विकल्प खोज्दै इलाम नगरपालिका


इलाम सदरमुकाममा १३ वर्षअघि निर्माण सम्पन्न भएको शीतभण्डार अहिलेसम्म प्रयोगविहीन रहेको छ। भारतीय दूतावासको सहयोगमा पाँच करोड ४९ लाख ६७ हजार ६ सय ४६ रुपियाँको लागतमा २०६८ चैतमा निर्माण सम्पन्न भएको शीतभण्डारमा एक मात्र कोठा (चेम्बर) भएकाले सञ्चालनमा समस्या आएको हो।
इलाम नगरपालिकाले शीतभण्डारलाई उपयुक्त रूपमा प्रयोग गर्न विकल्प खोजिरहेको छ। नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी दाहालका अनुसार शीतभण्डार सञ्चालन गर्न धेरै पटक प्रयास भए पनि सफल हुन नसकेपछि अब उपयुक्त विकल्पको खोजी भइरहेको छ। शीतभण्डार सञ्चालन गर्न पाँच–छ जनासँग कुराकानी भए पनि कसैले निरन्तरता नदिएको नगरपालिकाका इन्जिनियर दीपक गुरागाईँले जानकारी दिए ।
शीतभण्डार सुन्तला, किवी, आलु, चिया, जडिबुट्टी, र अन्य तरकारी तथा फलफूलका लागि लक्षित गरी निर्माण गरिएको भए पनि अहिलेसम्म यसको पूर्ण उपयोग हुन सकेको छैन। हाल शीतभण्डारमा नगरपालिकाले पाइप र पुराना सामग्रीहरू थन्क्याएको छ।