पातारासी गाउँपालिकाको वडा ५ बालमैत्री वडा घोषणा


जुम्लाको पातारासी गाउँपालिका -५ लाई ‘बालमैत्री’ वडा घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ का मापदण्ड र ५१ सूचक पूरा गरेपछि यो घोषणा गरिएको हो।
पातारासी गाउँपालिकाको यो वडा बालबालिकाको अधिकार, संरक्षण, विकास, र सहभागितालाई स्थानीय तहमा संस्थागत गर्ने क्रममा, जुम्लाका ६० वडामध्ये दोस्रो बालमैत्री वडा बन्न सफल भएको छ। यसअघि, यो वडालाई जुम्लाकै पहिलो बालविवाह मुक्त वडा घोषणा गरिएको थियो।

बालमैत्री घोषणा कार्यक्रमको क्रममा पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बालबालिकाको स्वास्थ्य, शिक्षा, र विकासलाई विशेष प्राथमिकता दिइएको बताए। साथै, उनले बालमैत्री स्थानीय शासनलाई बलियो बनाउन आगामी दिनमा पनि प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बताउँदै, २०८७ सम्म नेपाललाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न सबैलाई सहयोग गर्न आग्रह गरे ।

बालमैत्री वडा घोषणा गरिएको अवसरमा आयोजित कार्यक्रममा बालबालिकाले प्लेकार्डसहित सहभागिता जनाएका थिए। साथै, बालविवाहविरुद्ध चेतनामूलक नाटक पनि प्रस्तुत गरिएको थियो, जसले वडाका अन्य क्षेत्रमा पनि प्रेरणा जगाउने अपेक्षा गरिएको छ।