Ad Image

बौदीकाली गाउँपालिकामा १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न तर उपकरण र दरबन्दीको अभाव

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726904694.jpg

नवलपुर। नवलपुरको बौदीकाली गाउँपालिकाले १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ। केन्द्र सरकारको बजेटबाट निर्माण भएको यो भवनलाई बौदीकाली आधारभूत अस्पतालका रूपमा विस्तार गर्न लागिएको हो। स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडामगरका अनुसार, हाल रकुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई नै अस्पतालको रूपमा विकास गर्ने योजना बनाइएको छ। 

उपकरण र दरबन्दीको अभाव
यद्यपि, अस्पताल भवन तयार भए पनि आवश्यक उपकरण र जनशक्ति नहुँदा अस्पताल सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ। स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडामगरले अस्पताल सञ्चालनका लागि केन्द्र र प्रदेश सरकारबाट दरबन्दी र तलब व्यवस्थापनमा कुनै स्पष्ट नीति नआएको जनाएका छन। अस्पताललाई चाहिने सामान्य सामग्रीसमेत उपलब्ध नभएको र १५ शय्याको अस्पताल सञ्चालन गर्न हालको अवस्थामा असम्भव रहेको बताए । 

गाउँपालिका अध्यक्ष प्रकाश ओझाका अनुसार, दैनिक ३० देखि ४० जना बिरामी आउने हुँदा अस्पतालले सेवा सुरु गर्दा बिरामीको चाप अत्यधिक हुने आशंका गरिएको छ। उनले स्थानीय तहले आफ्नै बजेटले अस्पताल सञ्चालन गर्न नसक्ने र कर्मचारी तथा उपकरणको आपूर्ति केन्द्र सरकारबाट हुने आशामा रहेको जानकारी दिए।

अस्पतालसँगै पालिका भवन पनि तयार
गाउँपालिकाले स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) र पालिकाको साझेदारीमा ६ करोड लागतमा पालिका भवनसमेत निर्माण सम्पन्न गरेको छ। अध्यक्ष ओझाका अनुसार, एक महिनाभित्रै प्रधानमन्त्रीको उपस्थितिमा अस्पताल भवन, पालिका भवन, र वडा कार्यालयको एकै पटक उद्घाटन गर्ने तयारी भइरहेको छ।