पाख्रिवासमा पहिरोले दुई जनाको मृत्यु


धनकुटा । धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका–५, गुराँसे डाँडामा ३५ वर्षीय आषा तामाङ र उनकी आमा करिब ५० वर्षीय रामकुमारी तामाङको पहिरोले पुरेर मृत्यु भएको हो।
बिहान साढे ३ बजे घर बगाउन लागेपछि सामान निकाल्न गएका बेला आमा-छोरीलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए ।
त्यसैगरी, छथर जोरपाटी गाउँपालिका–६, सिधुवामा पहिरोले गोठ पुरिँदा एक दर्जनभन्दा बढी चौपाया पुरिएका छन्। सिधुवा बजारको पछाडिबाट गएको पहिरोले केही घरहरू जोखिममा परेको स्थानीय अर्जुन घिमिरेले जानकारी दिए।