स्वामीकार्तिक खापर गाउँपालिकामा ‘आमा पहिलो कार्यक्रम’ लागू, कुपोषण न्यूनीकरणमा जोड


बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले कुपोषण न्यूनीकरण तथा आमाहरूको स्वास्थ्य सुधारको उद्देश्यले ‘आमा पहिलो कार्यक्रम’ लागू गरेको छ। जिल्लामा कुपोषणको उच्च दर रहेको यस पालिकाले पहिलोपटक आमाहरूको पोषण तथा स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्यक्रमको सुरुवात गरेको हो।
गाउँपालिकाले पहिलो चरणमा १०७ आमा समूहहरूमध्ये ३९ समूहका आमाहरूसँग भेटघाट र छलफल गर्दै तथ्याङ्क संकलन गरेको जनाएको छ। मिगुदेखि फयाल गाउँसम्मका २४०० आमालाई कार्यक्रमसँग जोडिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए । प्रत्येक आमाका लागि निःशुल्क बैंक खाता खोली, प्रतिव्यक्ति ४१२४ रुपैयाँ जम्मा गरिएको छ।
कार्यक्रमले आमाहरूलाई आफ्नो आयको केही अंश बचत गर्ने र समूह मार्फत पाँच किलो दाल संकलन गर्ने प्रोत्साहन गरेको छ। दालको बिक्रीबाट आएको रकम आमाकै खातामा जम्मा गरिनेछ। यसैगरी, प्रत्येक वर्ष आमाहरूले एक आयमूलक योजना छनोट गरी लागू गर्नुपर्नेछ, जसको उत्पादन गाउँपालिकाले नै खरिद गर्ने व्यवस्था गरिएको छ।
स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष रोकायाका अनुसार, छाउपडी, बालविवाह, छुवाछुतजस्ता प्रथालाई हटाउन आमा समूहलाई जिम्मेवारी दिइनेछ। कार्यक्रममा निरन्तरता दिनका लागि सबै सरोकारवाला निकायहरूसँग समन्वय भइरहेको छ।
राष्ट्रिय योजना आयोगले गत वर्षका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको यस कार्यक्रमका लागि यस वर्ष गाउँपालिकाले थप एक करोड रुपैयाँ बजेट छुट्याएको छ। यसले आमाहरूको जीवनस्तर उकास्न मद्दत पुग्ने गाउँपालिकाको अपेक्षा छ। स्वामीकार्तिक खापर गाउँपालिकामा लागू भएको यो कार्यक्रम बाजुराको पहिलो ‘आमा कार्यक्रम’ हो।