Ad Image

इन्द्रसरोवरमा बाढीले ३० घर बगायो, हेटौँडा–काठमाडौँ सडक पहिरोले अवरुद्ध

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1727504436.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी बजारमा आएको बाढीले ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इन्चार्ज भोजराज न्यौपानेका अनुसार बाढीले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको छ।

 

इन्द्रसरोवर गाउँपालिका-२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। कुलेखानी जलाशय भरिएपछि बिहान बाँधका दुई ढोका खोलिँदा जलसतह बढेको थियो। कुलेखानी जलाशयका कारण आएको बाढीले ठूलो क्षति पुर्‍याएको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

 

 पहिरोले हेटौँडा–काठमाडौँ सडक अवरुद्ध
अविरल वर्षाका कारण मकवानपुरको हेटौँडा–काठमाडौँ सडकमा पहिरो जाँदा कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ, र त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

 

स्थानीय तह र सडक विभागको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए। साथै, भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको सम्भावनालाई ध्यानमा राख्दै जिल्लाका सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको बताइएको छ।