Ad Image

हलेसी तुवाचुङ नगरपालिकाले व्यवसाय गर्ने नगरबासीको बैँक व्याज तिरिदिने

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732105313.jpeg

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले बैङ्क तथा वित्तीय संस्थाबाट लिएकाे ऋणकाे व्याज तिरिदिने निर्णय गरेकाे छ ।

पालिकाले ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने नगरवासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको हाे । 

लगानी अभावका कारण व्यवसाय गर्न नपाएका तथा ऋण लिएर ब्याज तिर्न नसकिरहेका नगरवासीलाई आफ्नै गाउँमा स्वरोजगार बनाउने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।  

कृषि, पशुपालन, लघुउद्यम, होम–स्टे (घरवास), दुनाटपरी, पुष्प खेती, मौरीपालन, फलफूल खेती, फलफूल प्रशोधन केन्द्र,  दूधडेरी सञ्चालनलगायत क्षेत्रमा लगानी गरेका तथा गर्न चाहने व्यवसायीलाई ब्याजमा अनुदान दिने कार्यक्रम ल्याइएको नरप्रमुख विमला राईले जानकारी दिइन् ।

उनका अनुसार व्यवसाय सञ्चालनका लागि बैङ्क तथा बित्तीय संस्थाबाट नगरवासीले लिएको ५  लाख रुपैयासम्मको ऋणको ब्याज अनुदानको रूपमा नरपालिकाको तर्फबाट तीन वर्षसम्म तिरिदिने छ ।

यो कार्यक्रममा महिला, एकल महिला, दलित र वैदेशिक रोजगारीबाट फर्केका नगरवासीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

व्यवसाय सञ्चालन गर्न चाहने तथा गरिरहेका नगरवासीले बैङ्क तथा बित्तीय संस्थाको सम्पूर्ण प्रक्रिया पूरा गरेर सम्झौताका लागि नगरपालिकामा सम्पर्क गर्नुपर्ने नगर कार्यपालिकाबाट पारित कार्यविधिमा उल्लेख छ । 

सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीयवासीका लागि नगरपालिकाले यसअघि पनि विभिन्न कार्यक्रममा अनुदान उपलब्ध गराउँदै आएको छ । कृषि व्यवसाय बाहेक आम्दानीको अन्य स्रोत नहुने स्थानीयवासीलाई लक्षित गरेर आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यसहित नगरपालिकाले कपास, गहत र बदाम खेती गर्ने कृषकका लागि अनुदान दिँदै आएको हो ।