Ad Image

रास्वपाको निर्णयः राजनीतिक प्रतिशाेधविद्ध दोस्रो चरणमा संयुक्त सशक्त आन्दोलन गर्ने (विज्ञप्तिसहित)

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731158514.jpg

काठमाडौँ, कार्तिक २४: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ ।
 

शनिबार बसेको केन्द्रीय समिति बैठकले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको ठहर गर्दै अर्को चरणमा संयुक्त सशक्त सङ्घर्ष गर्ने निर्णय गरेको हो ।
 

‘सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको घोर भर्त्सना गर्दछ,’बैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठिम्याई छ ।’
 

संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा सहकारीबाट गोरखा मिडियामा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको  भन्दै रास्वपाले सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउको वास्तविक उद्देश्य वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न हो भन्ने प्रष्ट देखिएको दाबी गरेको छ ।
 

कुनै बेला राजनीतिक स्वतन्त्रताका लागि सङ्घर्ष गरेका दलहरू आज नवीन विचार र आवाजलाई दबाउन उद्दत रहेको भन्दै विज्ञप्तिमा राज्यको यस्तो स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत रहेको उल्लेख छ ।
 

‘रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध साथै साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्याय प्रेमी आम नेपाली जनतामा हार्दिक आव्हान गर्ने,’ विज्ञप्तिमा उल्लेख छ ।