उप-निर्वाचनमा केन्द्रित हुन नेता/कार्यकर्तालाई एमालेको निर्देशन


काठमाडौँ, कार्तिक २४: सत्तारूढ नेकपा (एमाले)ले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले ४४ वटा स्थानीय तहका रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा जित हासिल गर्न सिंगो पार्टीलाई एकताबद्ध भएर लाग्न आह्वान गरेको हो । बैठकले प्रदेश कमिटीले सिफारिस गरेका उम्मेदवारहरूको नाम अनुमोदन गर्दै उपनिर्वाचनमा ती उम्मेदवारहरूलाई विजयी बनाउन पूर्ण प्रयास गर्नुपर्ने निर्देशन दिएको छ ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा भएका निर्णयहरूको जानकारी दिँदै चुनावमा जित हासिल गर्न सिंगो पार्टीलाई समर्पित हुन आग्रह गरिएको बताए । बैठकले कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री लिलावल्लभ अधिकारीमाथि उठेका गम्भीर प्रश्नहरूको कानूनबमोजिम निरुपण नभएसम्मको लागि उनलाई पार्टीका सबै जिम्मेवारी र सदस्यताबाट मुक्त गर्ने कोशी प्रदेश कमिटीको निर्णयलाई पनि अनुमोदन गरेको छ ।
पार्टीले अधिकारीलाई लागेका आरोपहरूको निष्पक्ष र तथ्यपरक छानबिन गर्न राज्यका सम्बन्धित निकायलाई आग्रह गर्दै पार्टीले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै,मंसिर ७ गते काठमाडौं जिल्ला कमिटी,ललितपुर जिल्ला कमिटी र भक्तपुर जिल्ला कमिटीले काठमाडौंमा आयोजना गर्न लागेको जागरण सभालाई सफल बनाउन पार्टीका सबै जनवर्गीय संगठन, सम्पर्क कमिटी, सम्पर्क मञ्च तथा पेशागत संगठनलाई सहभागिता जनाउन पनि बैठकले आह्वान गरेको छ ।
बैठकमा उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी डिसेम्बर पहिलो साता हुने चीन भ्रमणले राष्ट्रिय हितमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । बैठकले पछिल्लो अन्तर्राष्ट्रिय घटनाक्रमहरू,जस्तै अमेरिकाको राष्ट्रपति निर्वाचन र रुसको कजानमा सम्पन्न ब्रिक्स सम्मेलनलगायत विषयमा समेत समीक्षा गरेको थियो । बैठकले नेपालले छिमेकी राष्ट्रहरूसँग असल, सन्तुलित, र राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अपनाउनु आवश्यक रहेकोमा जोड दिएको छ ।
पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणलाई राष्ट्रिय हितमा अधिकतम उपयोग गर्न शुभेच्छा व्यक्त गरेको छ ।