Ad Image

स्थानीय तह उपनिर्वाचनमा क-कसले दिन पाउँछन् उम्मेदवारी ?

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731562538.jpg

काठमाडौँ । आउँदाे मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयाेगले उम्मेदवारकाे याेग्यता सार्वजनिक गरेकाे छ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको लागि उम्मेदवारको योग्यता र अयोग्यता दुवै सार्वजनिक गर्दै पालना गर्न निर्देशन दिएको हाे । 

 

आयाेगले मंगलबार जारी गरेको विज्ञप्तिमा उम्मेदवारको योग्यता र अयोग्यता खुलाइएको छ । उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवार दर्ता गर्ने कार्यक्रम छ । उम्मेदवारको मनोनयन दर्ता गर्दा योग्यता पालना गर्न आयोगले सरोकारवालासँग आग्रह गरेको छ । 

 

आयोगको विज्ञप्तिअनुसार स्थानीय तह उपनिर्वाचनमा व्यक्ति २१ वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा कुनै कानुनले अयोग्य नभएको र २०७९ सालको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहने गरी उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्नेछ । 

 

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ बमोजिम अयोग्य भएको व्यक्ति, गैरनेपाली नागरिक वा नेपालको नागरिक नभएको व्यक्ति, नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थानमा पारिश्रमिक पाउनेगरी बहाल रहेको व्यक्ति,  कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेदवार बन्न नपाउने विज्ञप्तिमा उल्लेख छ ।