Ad Image

४ पालिका उपप्रमुखमा महिलाले मात्रै दिन पाउँछन् उम्मेद्‌वारी

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731567740.jpg

काठमाडौं, कात्तिक २९: आउँदाे स्थानीय तह उपनिर्वाचनमा ४ गाँउपालिकाको उपप्रमुख पदमा महिलाहरु मात्रै उम्मेद्‌वार बन्न पाउने भएका छन् ।

 

निर्वाचन आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपप्रमुख पदका लागि महिलाहरुले मात्रै उम्मेद्‌वारी दिन पाउने भएका हुन् ।

 

ती गाँउपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरु पदमा बहाल रहेकाले राजनीतिक दलहरुबाट महिलाहरु मात्रै उमेद्‌वार बन्न पाउने भनी निर्वाचन आयोगले नीतिगत निर्णय गरेको हो ।

 

उपनिर्वाचनमा ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये चारवटा स्थानीय तहमा यसअघि नै पुरुष निर्वाचित भएकाले अब हुने निर्वाचनमा महिलाले मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था आयाेगकाे निर्देशनमा रहेकाे छ ।

 

रिक्तमध्ये अहिले नै प्रमुख वा उपप्रमुखमा महिला जनप्रतिनिधि भएका ठाँउमा भने यो व्यवस्था अनिवार्य हुनेछैन ।  

 

महिला मात्रै उम्मेद्‌वार बन्न पाउने बाहेक अरु तीन स्थानीय तहको प्रमुख/उपप्रमुखमा भने महिला वा पुरूष दुवैले उम्मेदवारी दिन पाउँछन् । मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्ष, कीर्तिपुर नगरपालिकाको प्रमुख, दैलेखको महाबु गाँउपालिकाको प्रमुख पदमा पनि निर्वाचन हुँदैछ । तर यसअघि नै महिला निर्वाचित भएकाले ती स्थानीय तहको रिक्त पदमा बन्देजात्मक व्यवस्था लागू हुनेछैन ।

 

स्थानीय तह निर्वाचन ऐन, २०७४ को दफा १७(४) मा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेद्वारी दिँदा पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ । त्यो व्यवस्थालाई स्थानीय तहको उपनिर्वाचनमा समेत अनिवार्य हुने गरी निर्वाचन आयोगले व्यवस्था गरेकाे हाे।