देशभर कहाँ कहाँ भइरहेकाे छ मतदान ?


काठमाडौं । स्थानीय तहमा रिक्त ४१ जनप्रतिनिधि चुन्न आज बिहानदेखि मतदान भइरहेकाे छ । बिहान ७ बजेदेखि मतदाताहरु लामबद्ध भएर मतदानमा भाग लिइरहेका छन् ।
उपनिर्वाचन हुने स्थानीय तहमा सरकारले आज एक दिन सार्वजनिक बिदा समेत दिएको छ ।
नगरपालिकाको प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि अहिले मतदान जारी छ । बिहान सात बजेदेखि सुरु मतदान साँझ ५ बजे सम्पन्न हुँदैछ ।
कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख तथा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
स्थानीय तहमध्ये कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचन सबैभन्दा चासोको केन्द्रमा छ । कीर्तिपुरमा मेयर पदमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, स्वतन्त्रसहित २० जना उम्मेदवार छन् । कीर्तिपुरकै वडा नम्बर १ र ४ को अध्यक्ष पदका लागि पनि मतदान भइरहेकाे छ ।
कीर्तिपुर क्षेत्रका मतदान केन्द्रमा नेपाली सेनाको टोलीले आज बिहान पैदल गस्ती गरेको थियो । यसैगरी काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा पनि मतदान भइरहेकाे छ ।
कहाँकहाँ भइरहेको छ मतदान ?
जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि मतदान भइरहेको छ ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपलिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ तथा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४ को वडाध्यक्ष पदमा पनि मतदान जारी छ ।
त्यस्तै, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ को वडाध्यक्ष पदका लागि पनि मतदान जारी छ ।
नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौंडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा मतदान भइरहेकाे छ ।
दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि मतदान जारी छ ।
कीर्तिपुर नगरपालिकाको मतगणना कीर्तिपुर नगरपालिकाको हलमा र काठमाडौंको वडा नम्बर १६ को मतगणना वडा कार्यालयकै भवनमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।
निर्वाचन आयोगले कसैको प्रलोभनमा नपरी आफूले चाहेको उम्मेदवारको चुनाव चिह्नमा ढुक्क भएर मतदान गर्न सबैलाई आह्वान गरेको छ ।






